सोमबार खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकाल देखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । गाईभैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्नेरूपमा मात्र बाँकी रहेको गाउँका बूढापाकाको बुझाइ छ ।
बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानीले बताए । गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्त्व प्राप्त हुने आयुर्वेदमा उल्लेख छ ।
त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खीर खानाले शरीर स्वस्थ हुने भएकाले साउन १५ लाई खीर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।।