लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान १० बजेतिर दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । १० जनालाई थप उपचारको लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा रिफर गरिएको छ ।
दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका–९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका–८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । राइनास नगरपालिका–९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका–८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका–४ घर भई हाल सुन्दरबजार नगरपालिका–७ साकाहलेका ६७ वर्षीय सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका–९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका–२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका–९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ, फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका–८ का ४५ वर्षीय मुना लामा रहेका छन् । तामाङ र लामा समुदायकाहरु अर्घुंममा गएर फर्किका रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ ।