पोखराको प्रमुख चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सञ्चालनमा छ ।
पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै मंगलबार देखि हस्ताक्षर संकलन गरिएको छ । अहिले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ । पृथ्वीचोक पोखराको प्रमुख चोक हो, जुन पृथ्वी राजमार्गको सुरुवाती बिन्दु पनि हो । पृथ्वीचोकलाई लखनचोक लेखेर शालिकसँगै राखियो तर, डेढ दशक बितिसक्दा पनि जनजिब्रोमा प्रायः पृथ्वीचोक नै छ ।
पृथ्वीनारायण शाह सामान्य राजामात्रै नभएर इतिहासमा उहाँ नेपाल एकीकरणका गर्ने निर्माता हुनुहुन्छ । विश्वमा हरेक राष्ट्र विस्तार वा निर्माण गर्ने व्यक्तिलाई राष्ट्र निर्माताको रुपमा सम्झने गरिन्छ । त्यस्तै, नेपालमा पृथ्वीनारायण शाहको नाम हरेक नेपालीको सम्झनामा आउँछ । तर आज पृथ्वीनारायण शाहमाथि र नेपालको इतिहासमाथि कैयौं प्रहार भइरहेको छ । ऐतिहासिक र पुरात्वात्विक महत्व राख्ने उहाँका सालिकहरु ढलाइएका वा तोडफोड गरिएका छन् । त्यसो गर्नु पृथ्वीनारायण शाहको मात्रै होइन, नेपालको इतिहासमाथिकै प्रहार र अपमान भएकोे राष्ट्रनिर्माता गौरव अभियानका सचिवको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन समेत गरेका थिए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका अभियानकर्ता बलराम बरालले बताए । चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको उनले बताए ।
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर भएको छ, खतरामा परेको छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको एकीकरण, उहाँले गरेका योगदान, त्यसको जगमा निर्माण भएको नेपाल राष्ट्र युगौंयुग पछि सम्म संरक्षण गरि भावी पुस्तालाई बुझाउनुपर्छ । पृथ्वीनारायण शाहका विरुद्धमा भइरहेका हमलाहरुलाई परास्त गरेर देशको सार्वभौमसत्ताको जगेर्ना, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय एकता प्रदर्शन गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।
