नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइयो । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँयो । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै इनार, कुवा, धारा, कुण्ड तथा जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंखसहित अष्टनागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुवो,लावा फलफूल चढाई दूध वा खीरको नैवद्य लगाउने चलन रहेको कमलपोखरी संरक्षण समिति का अध्यक्ष केश बहादुर विश्वकर्माले बताए ।
यसरी नागको पूजा गर्नाले घरमा चटयाङ् वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ । ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालीय नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।
नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नुहुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । सर्प,साँप लामकीरो,लम्बा नामका सरिसृपलाई जलका देवता र वातावरण्को विष खाने प्राणीका रुपमा सम्मान गरी नाग शब्दले सम्बोधन गरिन्छ । नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम सुरु हुने लोककथन प्रचलित छ । नागपञ्चमीका अवसरमा गण्डकी प्रदेशका विभिन्न जलमूल तथा नागका थानमा पूजा गरिएको छ । पोखराको कमलनाग पोखरीमा आज विशेष रुपमा नागपूजा गरिएको छ । नागपञ्चमीका अवसरमा आज देशैभर जलकुण्ड, पोखरीमा नागपूजा गर्नेको भीड लागेको छ । काठमाडौको नक्सालस्थित नागपोखरीमा नागपूजाको मेला लागेको छ ,काठमाडौकै चोभारस्थित कर्कोटक नागको निवास मानिने टौदहमा पनि नागपूजाको मेला लागेको छ । साथै ललितपुरको धापाखेलमा रहेको वासुकिनाग निवास मानिने नागदहमा पनि आज नागपूजा गर्ने भक्तहरुको भीड लागेको छ ।।