पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने माग एक साताभित्र सम्बोधन गर्ने बताए ।
राष्ट्रनिर्माता गौरव अभियानले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख आचार्यले सम्बन्धित सबै पक्षसँग छलफल गरी शालिक पुनर्निमाणबारे निर्णय गर्ने बताए ।
राष्ट्रनिर्माता गौरव अभियानका अभियान्ताहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वीचोकमा उहाँको शालिक पुर्नस्थापना गर्न माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रनिर्माता गौरव अभियानका सचिव अर्जुन खनालले पृथ्वीनारायण शाहको शालिक साविक स्थानमै पुनःस्थापना गरेर राष्ट्रको सम्मान गर्दै पुर्खाको गौरवमय इतिहास बचाई राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवर्धन गर्न आग्रह गरेका थिए ।
पुर्खाको गौरवमय इतिहास बचाउन र त्यसबाट प्रेरणा लिन महापुरुषको शालिक चोकचोकमा राख्ने प्रचलन विश्वभर नै रहेको भन्दै सगोल राष्ट्र दिने पृथ्वीनारायण शाहलाई सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको पनि बताइएको छ । अभियान्ताहरु पोखराको पृथ्वीचोकमा भेला भई नारासहित जुलुस निकाली महानगर कार्यालयमा पुगेका थिए ।।