मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागवेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्रीमुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
मुक्तिनाथ सन्त सेवाश्रम, रामघाटले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजनागरी करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको जानकारी दिएको हो । करिब ३५ बर्ष पहिलेबाट निःशुल्क भोजन तथा आवासको सेवा प्रदान गर्दैआएको श्रीमुक्तिनाथ अन्नदान क्षेत्र कागवेणीका सम्पूर्ण भौतिक संरचना बाढीले पूर्ण रुपमा क्षति गरेको जनाइएको छ ।
बाढीका कारण अतिथिको भोजन आवासको सेवाका लागि आवश्यक खाद्यन्न, विस्तार, सिरक डस्ना, कम्बल, सय जनाका लागि भोजन बनाउने भाँडाहरु, ३० वटा सिलिण्डर, मन्दिरका बहुमूल्य गहना, चाँदीका भाँडाकुडालगायत सम्पूर्ण भौतिक संरचनाहरु गरी ५ करोड बराबरको सम्पत्तिको क्षति भएको सेवाश्रमका अध्यक्ष महेश पराजुलीले जानकारी दिए । भौतिक क्षति मात्र नभएर आध्यात्मिक र भावनात्मक क्षति भएको उनले बताए । बाढीले कालीगण्डकीमा रहेको अलौकिक शालिग्राम शिला पनि बगाएको पत्रकार सम्मेलनमा जनाइएको छ ।