मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको साहसिक पर्यटकीय खेल हट एयर बेलुन आगामी सेप्टेम्बर १ देखि पुन सुरु हुने भएको छ ।
बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।
पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।
हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ ।
