गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् ।
गण्डकी प्रदेशमा करिब ३० देखि ४० प्रतिशतमा डेङ्गु देखिएको चिकित्सक बताउछन् । गण्डकीका पर्वतमा दुई , म्याग्दीमा १२ ,र बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको फिजिसियन डा. डोलेन्द्र आचार्यले बताए ।
डेङ्गु एडिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्छ । डेङ्गु लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् । डेङ्गु लाग्ने कुनै पनि उमेर हद नभएपनि पछिल्लो समय १५ देखि ४५ उमेर समूहमा यो रोग बढि देखिएको डा. आचार्यको भनाइ छ । डेङ्गुको खोप हालसम्म पत्ता लाग्न सकेको छैन । यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सको सुझाव छ । डेङ्गु लागिहालेमा चिकित्सकको सल्लाहमा उपचार गर्ने प्रशस्त झोलिलो पदार्थ पिउने, आत्मबल बलियो बनाउनुपर्ने चिकित्सकको सल्ल्लाह छ ।
फैलिदै गएको डेङ्गुको प्रकोप कम गर्न कास्की लगायतका अन्य जिल्लामा ‘खोज र नष्ट गर’अभियान तथा सरसफाइका कार्यक्रमहरु संचालन गरिएको छ । साँझको समयमा घरबाहिर नबस्ने,झूल हालेर सुत्ने, घरपरिसरमा पानी जम्मा हुन नदिने,थोत्रा भाँडाकुँडा र झाडी हटाएर घरवरपर सरसफाइ गर्ने जस्ता कार्य गरी डेंगु सार्ने लामखुट्टेबाट बच्ने उपाय गर्दा यसबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।