बुटवल पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका २२ को कालिमाटिमा अघिल्लो आर्थिक वर्षमा वर्षाका कारण सडक भासिएर चिराचिरा परेको छ ।
कालिमाटि अर्थात चाइनिजगुम्बाको चोक भनेर चिनिने सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी पर्दा सडकमा थप क्षति हुने जोखिम बढेको हो । उक्त सडक भासिएको एक वर्ष बितिसक्दा पनि पुर्ण रुपमा मर्मत हुन सकेको छैन । बुटवल, गल्याङसँगै स्याङ्जा वालिङका लागि पोखरा आउन र जानका लागि मुख्य सडकका रूपमा रहेपनि वर्षातको कारण र ठेकेदारको लापरबाहीका कारण समयमा सडक मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर अशोक पौडेलले बताए ।
सडक भासिदा एक घर उच्च जोखिममा परेका परेको छ । भासिएको सडक मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि सडक मर्मत हुन नसकेको कालिमाटिका स्थानीय बताउँछन् । स्थानीय लोकनाथ कोइरालाले भन्नुभयो, “सडक भासिएको लामो समय भइसक्यो । अब बर्खाको समयमा थप जोखिम हुनसक्ने भएकाले सडक मर्मतका लागि भनिरहेका छौँ । तर सडक डिभिजन कार्यालयसँगै निर्माण व्यवसायीको लापरबाहीले मर्मत सम्भार हुन सकेको छैन ।“ उनको घर छेउबाट नै पहिरो गएको छ । वर्षाको बेलामा थप पहिरो जाने सम्भावना देखिएको बताउछन् । जसले गर्दा उनको कुखुरा फार्म र धान खेति समेत जोखिममा रहेको बताए । साथै, मर्मत स्थलमा न कुनै साइन बोर्ड छ, मर्मत कार्य भैरहेको कुनै पनि सुचना नभएकाले रातिको समयमा यात्रा गर्ने यात्रुलाई बढि जोखिम भएको स्थानीय बताउछन् ।
केहि दिन अघिमात्रै भासिएको सो सडकमा मोटरसाइकल दुर्घटना भएको थियो तर दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने हो कि भन्ने स्थानीयको मनमा आशङ्का छाएको छ । सडक भासिएर छेउमा भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । समयमै सडक मर्मत नहुने र वर्षाको समयमा सडक थप भासियो भने बुटवल स्याङजाबाट पोखरा आउने सडक बन्द हुने अवस्था छ । वर्षा हुँदा पहिरो खस्ने तथा छेउमा भासिने समस्या देखा परेको छ । दिनहु हजारौँ यात्रु तथा पर्यटक आवतजावत गर्दछन् । पोखराको मुख्य पर्यटकिय गनतव्य पुम्दिभुम्दी, विश्व शान्ति स्तुपा जाने बाटो पनि यहि हो । गण्डकी प्रदेशको राजधानि तथा पोखरा महानगरपालिकाको दक्षिणि नाकाले परिचित यो सडक प्रभावित हुदाँ यात्रु तथा पर्यटक त्रसित भएका छन् । त्यसैले राजमार्गमा सवारी चालक पनि सावधानी पुर्व यात्रा गर्न आवश्यक देखिन्छ । साथै सरोकारवाला निकायले यस्ता संवेदनशिल विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।