मुस्ताङको कागखोलामा बाढी आएको झन्डै एक महिनामा कागखोलालाई पुरानै धारमा फर्काइएको छ ।
गत साउनको अन्तिममा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागखोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा ठुलो क्षति भएको थियो । साउन २८ गते आएको बाढीले कागबेनी क्षेत्रमा निकै ठुलो भौतिक संरचनामा क्षति पु–याएको थियो। खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पु–याएको थियो। अहिले कागखोलालाई पुरानै धारमा फर्काएर पुरानै ठाउँबाट बगिरहेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले झन्डै २० दिनसम्म डोजर लगाएर खोलालाई पुरानै धारमा फर्काइएको बताए । बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग स्थानीय तहले पहल गरेको छैन। अहिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि रहेको र उनीहरूले नै अहिलेको अवस्थामा जिम्मेवारी लिएर काम गरिरहेको प्रजिअको भनाइ छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले साउन २८ देखि अवरुद्ध कागखोलामा अस्थायी काठको पुल बनाएर सवारी आवागमनको व्यवस्था मिलाइएको बताए ।
बस्तीमा पसेको बाढी पन्छाउन डोजर परिचालन एवं स्थानीय तथा छिमेकीले स्वयम्सेवकका रूपमा काम गरिरहेको उनको भनाइ छ । स्थानीयवासीले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल निर्माण गरिएको उहाँको भनाइ छ । पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको स्थानीय बताउछन् । कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । कागखोलामा पुल बनेसँगै जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ ।
विद्यालयका शिक्षक प्रेम गौतमले कागबेनीमा रहेको जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन भदौ १७ देखि सञ्चालनमा आइसकेको बताए । बाढीले पाइपलाइन बगाउँदा अवरुद्ध भएको खानेपानी र २८ वटा पोल बगाउँदा अवरुद्ध भएको विद्युत् सञ्चालन भइसकेको छ ।