चाडबाड नजिकिएसँगै नेपाली बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको पाइएको छ ।
सरकारी निकायले बजार अनुगमन गर्ने गरे पनि यो नामको मात्र अनुगमन भएका कारण कालोबजारी झन् बढ्दै गएको उपभोक्ताहरुले गुनासो गरेका छन् । बजारमा हिजोआज चिनीको कृत्रिम अभाव सृजना गरेको छ तर सरकारी निकायले कडाइका साथ अनुगमन गर्न नसक्दा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।
बजार अनुगमनलाई कडा बनाउनुपर्ने उपभोक्ताको सुझाव रहेको छ । दशैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य महँगिएको छ । बजारमा चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँ पुगेको छ । जब सरकारी संस्था साल्ट ट्रेडिङ्ले चिनीको मूल्य प्रतिकेजी ९७ रुपियाँ मात्र कायम गरेको छ । चिनी मात्र होइन अन्य उपभोगका सामानमा पनि मूल्यवृद्धि भएको छ ।
बिहीबार मात्र काठमाडौंको कुलेश्वरमा रहेको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा गुह्येश्वरी ट्रेडिङको गोदाममा ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।
स्थानीय तहलाई बजार अनुगमनसम्बन्धी कानुनतः अधिकार प्रदान गरे पनि अनुगन प्रभावकारी नहुँदा उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो सेवा सुविधा बढाउने तर जनताको उपभोक्ता स्वास्थ्यप्रति ध्यान नदिनाले समस्या आएको आरोप लाग्दै आएको छ । कीर्तिपुर पाँगाबजार चोकमा रहेको पाँगा किराना पसल सञ्चालन गरेका सुरज महर्जन बजारमा चिनीको खरिद मूल्य बढेकाले १४० रुपियाँमा चिनी बिक्री गर्नुपरेको बताए । महर्जनले भने, “दशैँ, तिहार जस्ता ठूला चाडपर्वहरु आउँदा सधै बजारमा चिनीका अभाव हुन्छ । एक साता भयो होलसेलमा चिनी खरिद गर्न जाँदा चिनी छैन भन्दै थोरै मात्र दिन्छन् ।”
तसर्थ सरकारले असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार असोज २१ गतेदेखि दशैँ, तिहार , छठजस्ता चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुनेछन् । वस्तुको महँगीलाई नियन्त्रण गर्ने योजनासहित प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता प्रदान गर्नका लागि सुपथ मूल्य पसल सञ्चालना ल्याउन लागिएको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा १३ टोलीले बजार अनुगमन गर्दै आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार उपत्यकाभर बजार अनुगनका लागि १३ टोली खटिएको छ ।
एउटा टोलीले बजारमा चिनीको भण्डार अवस्था र मूल्यको अध्ययमा खटिएको छ भने बाँकी बजार अनुगमनको लागि खटिएको उनको भनाइ छ । बजार अनुगमन प्रत्येक समयमा भइरहे पनि दशैँ, तिहार जस्ता ठूला पर्वमा बढी हुनसक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको उनले बताए ।
