Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • रोचक जानकारी
TRENDING
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा देखि कालिञ्चोक

दशैँतिहार बिदाको सदुपयोग गर्दै कालिका मा.वि रामवजार पोखराका शिक्षक र कर्मचारी अवलोकन भ्रमण जाने तय भयो।भ्रमण कहाँ जाने भनेर साथीहरूबिच केही दिन बिचार बिमर्श भए।केही भारतका ठाउँहरु र केही नेपालका भागहरुमा भ्रमण गर्ने मोटामोटी योजना निर्माण भए । शिक्षक साथीहरूको आन्तरिक पर्यटनलाई बढवा दिने मतले सबैको मन जितेपछि त्यही अनुरुप आदरणीय गुरुहरु रुद्र तिमिल्सिना र बिजय सापकोटाले कालिञ्चोक, भिमेश्वर, हलेसी, पाथीभरा, इलाम, बुढासुब्बा,दन्तकाली, बराहक्षेत्र र यिनै ठाउँहरुमा पर्ने अन्य धार्मिक र पर्यटकीय स्थलहरु समेटेर एउटा योजना निर्माण गर्नुभयो।
सूर्योदयको प्रतीक्षा पोखरामा नगर्ने, पोखरा देखि मुग्लिनसम्मको अप्ठ्यारो बाटो सकेसम्म सितका थोपाको कब्जामा धुलो रहँदा नै काट्ने योजना मुताबिक बिहान ५ बजे नै यात्रा प्रारम्भ गरियो। ३२ जना शिक्षक कर्मचारी र ३ जना बसका स्टाफहरु करिब ४० किमी प्रतिघण्टाको दरले पृथ्वी राजमार्गमा हुइँकिन थालियो। ७ बजे जामुनेमा चिया नास्तासँगै उही यात्रा। रुद्र सर र आकाश सरका रमाइला जोक्सहरुले आफ्नो घनत्व बढाउँदै हाम्रो यात्रालाई यादगार बनाउनमा प्रयत्नशील थिए।मेरालागि यति लामो यात्रा यति धेरै सिनियर साथीहरूका अनुभवले जन्माएका जोक्सहरु, सबै कुरा नौलो नै थिए। पृथ्वीराजमार्ग मेरोलागि नौलो थिएन । काभ्रेको बनेपासम्म पहिल्यै पुगेको हुनाले मलाई खाशै अनौठो लागिरहेको थिएन। बस आफ्नै गतिमा अगाडी बढिरहेको थियो, साथीहरूका रमाइला गफगाफ र नृत्यले यात्रालाइ थप यदगार बनाइरहेको थियो।
दिउँसोको करिब ३बजे इन्द्रावती र भोटे कोशीको दोभान नजिकै दोलालघाट पुगियो । धार्मिक ब्यक्तिहरु इन्द्रावती नदी किनारमा स्नान गर्नतर्फ लाग्नुभयो , केहि साथीहरू त्यहाँको लोकल माछा खाँदै त्यहाँको मनोरम दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्न ब्यस्त हुनुभयो ।चियाको पारखी म, चियाको चुस्की सँगै स्थानीय विशेषताको बारेमा बुझ्न थालेँ ।काठमाडौँ देखि करिब ५६ कि.मि. पूर्व रहेको बजार क्षेत्रको दोलालघाट बाग्मती प्रदेशको काभ्रे जिल्लाको एक ब्यापारीक केन्द्र रहेछ। समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित बजारलाई अरनिको राजमार्गको निर्माणले थप मद्दत पुर्याए तापनि दोलालघाटको ब्यापारिक महत्त्व अघिदेखिकै रहेछ। अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लासम्म व्यापारिक प्रभाव परेको रहेछ। राजमार्गकै केही दूरीमा बलेफी, बाह्रबिसे र लामोसागूँमा भएका बजारहरुको ब्यापारिक प्रभाव यो क्षेत्रमा परेको कुरा स्थानीयवासीको अनुभव रहेछ । यो क्षेत्रबाट प्रस्तावित दोलालघाट-धनकुटा राजमार्ग एवं दोलालघाट-चौतारा सडकको पनि संगमस्थल पर्ने भएकाले अझ बढी महत्त्व थपिएको रहेछ।

झिसमिसे उज्यालोमा ताते तते गरेको हाम्रो यात्रा अब टन्टलापुर घाममा हुर्किएर साँझको सामीप्य तर्फ उन्मुख हुँदै थियो। जति उकालो चढ्यो, उति चिसो हावाको स्पर्श बढ्न थाल्यो। पातलो हाफ टिसर्ट र उईण्ड प्रुफमा यात्रा प्रारम्भ गरेको म चिसोको अनुभवले उद्ध्योलित हुन थाले।हामी उत्साही मान्छेहरु चिसो हावाको स्पर्शसँगै उकाली चढिरह्यौं…। उचाइ बढ्दै जाँदा पहिरन र रहनसहन बदलिँदै थियो। मान्छेको मुस्कानले हामीलाई पुलकित गरिरहेको थियो।करिब ३४१ कि.मिको यात्रा अगाडि बढिरहेको थियो । थकित साथीहरू बसभित्रै हल्का निन्द्रामा झुल्दै हुनुन्थ्यो । यहि मौकामा कुशल लामिछाने सरले “स्याङ्जा जाने बाटोमा तनहुँ, बिर्सी जाने मायालाइ के भनुँ ” भन्ने गितमा नाँच्न र सबै साथीहरूलाई नचाउन थाल्नुभयो । बिचबिचमा आकश सरका जोक्स र साथीहरूको नृत्यले चरिकोट पुगेको पत्तै भएन। राति करिब ९ बजे चरिकोट पुगेका हामी स्थानीय विशेषता बोकेको चौँरीको घ्यूसँगै थकाली खाना खाएर सुत्यौँ।
पुर्णिामाको दिन कालिञ्चोक दर्शनको अवसरको भरपुर उपयोगका लागि लालयित हामी ५ बजे बिहानै कुरी बजारतर्फ अगाडि बढयौँ। सल्लो धुपि र लालिगुँरासले भरिएको जंगलको बिचमा साँघुरो ढलान गरेर निर्माण गरिएको उकालो बाटो हुँदै चरिकोटबाट कुरी बजार तर्फ भजन गाउँदै बढियो। जति उचाइ बढ्दै गयो अग्ला रुखले ढाकेको जंगल पार हुँदै बुट्यानले ढाकेको चौरहरु देखापर्न थाले।ठाउँठाउँमा चौरीका गोठहरु रहेछन।ससाना चिया पसल ,होचाहोचा साँघुरा घरहरु फ्याट्टफुट्ट देखापरिरहेका थिए। करिब १७ कि.मि. बाटो पार गरेपछि कुरी गाउँ पुगियो।

यो गाउँ यति रमाइलो रहेछ कि वर्णन नै गर्न सकिँदोरहेनछ । कालिञ्चोक भगवती मन्दिरबाट तल पर्ने कुरीगाउँ निकै मिलेको बस्ती रहेछ । भर्खरै निर्माण गरिएका आधुनिक घरहरुले निकै सोभा दिएका देखिन्छन् । चरिकोटबाट आएका सबै सवारीसाधन यही आएर रोकिने हुँदा गाडीहरुको ताँती नै देख्न पाइन्छ ।यहाँ निर्माण गरिएका जतिनै घरहरु छन्, ती सबै व्यापारिक प्रयोजनका लागि नै बनेका देखिन्छन्, किनकि सबैजसो घरमा होटल, लज र रेष्टुरेण्ट लेखिएका देखिन्छन् । यो कुरी गाउँको मुख्य आयस्रोत भन्नु नै पर्यटन व्यवसाय रहेछ । यो ठाउँको आकर्षण बढ्नुमा मुख्यरूपमा यहाँबाट अघि बढ्ने सडक रहेनछ । जति पनि भक्तजन तथा पर्यटक आउँछन् ती सबै नै यही नै केही समयको लागि भने पनि रोकिनु नै पर्ने रहेछ ।
यो ठाउँ उच्च पहाडी डाँडाको फेदीमा भएको हुँदा यही ठाउँबाट कालिञ्चोक भगवती माताको दर्शन गर्न जाने एक मात्र बाटो रहेछ र अरु बाटाहरु रहेनछन् । पैदल जानेहरुका लागि बाटो भए पनि त्यो निकै ठाडो उकालो भएकाले कठिन पनि रहेछ । त्यसकारण यो पैदल बाटो प्रयोग गर्ने भक्तजन तथा पर्यटक भेट्न मुस्किलै पर्दोरहेछ ।भगवतीको मन्दिर पुग्न निकै कठिन भएको हुँदा त्यहाँ जानका लागि केबुलकारको निर्माण भएको रहेछ । करिब चार मिनट समय लाग्ने र यसको भाडा भने ६०० रुपैयाँ लाग्दोरहेछ । ज्येष्ठ नागरिक, विद्यार्थी, अपांगताजस्ता लक्षित वर्गलाई छुटको व्यवस्था गरिएको हुँदा यिनीहरुका लागि भने केही राहत पुगेको देखिन्छ नै ।
केबुलकारबाट ओर्लेपछि करिब १०–१५ मिनेटको पैदलयात्रापछि कालिञ्चोक भगवतीको मन्दिर पुगिँदोरहेछ । बिहानको चिसो सिरेटो छल्दै र लेकाली सौन्दर्य नियाल्दै हामी पुग्यौं, कालिन्चोकको थुम्कोमा । तीन हजार आठ सय ४२ मिटरको यो उचाइबाट आसपासको सौन्दर्य नियाल्नुको बिछट्टै आनन्द रहेछ । अर्कोतिर कालिन्चोक भगवतीको महिमा पनि कम रहेनछ । धार्मिक कथन के रहेछ भने, यही आसपासको गुफामा पाँच पाण्डव गुफा बसेका थिए । पौराणिक महत्वको कालिन्चोक भगवती हिन्दुहरुको आस्थाको धरोहर रहेछ ।
मन्दिरको अवस्थिति एकदम नै उच्च स्थानमा रहेको हुँदा गर्मीको समयमा पनि सधैँभरि चिसो र हुस्सु ढकमक्क लाग्दोरहेछ । कतिपय शारीरिक कमजोर भएकाहरूलाई भने लेक लाग्ने हुँदा अलि जोखिम पनि हुँदोरहेछ । कसैलाई लेक लाग्यो भने टिमुर, लसुन, अदुवाजस्ता घरेलु औषधि प्रयोग गरेको अवस्थामा श्वासप्रश्वासमा सहजता हुँदोरहेछ ।
त्यसकारण अधिकांश दर्शनार्र्थीहरूले यी घरेलु औषधि उपचारका विधि अपनाउँदा रहेछन् । जसबाट धेरैलाई सहज पनि हुँदोरहेछ । हामीहरु त्यहाँ जाँदै गर्दा कसैलाई पनि लेक लागेको थाहा भएन । सबैको यात्रा सहज नै देखियो । त्यसैले कालिञ्चोक भगवतीको दर्शन गर्न जानका लागि चिन्ता लिनुपर्ने देखिँदैन । तर, आफ्नो सजिलोका लागि केही घरेलु औषधि र न्याना लुगा लैजानु राम्रो हुनेछ ।
त्यहाँको मन्दिरको अवस्थिति हेर्दा अचम्म लागेर आउँछ । त्यस्तो अनकन्टार र निर्जन ठाउँमा कसरी मन्दिरको स्थापना भयो होला भन्ने कल्पना गर्न पनि सकिँदैन । मन्दिरको परिसर यस्तो रहेको छ कि मन्दिर रहेको ठाउँको क्षेत्रफल निकै साँघुरो छ । त्यही साँघुरो ठाउँमा धेरै देवी–देवताका मन्दिर स्थापना भएका छन् । मन्दिरको परिक्रमा गर्नका लागि सहज हुने गरी बाटो निर्माण पनि गरिएको छ । धुप, दीप गर्नका लागि सहजरुपले व्यवस्थापन पनि मिलाइएको पाइन्छ ।
प्राकृतिक हिसाबले समेत कालिन्चोक क्षेत्र चित्ताकर्षक छ। डाँडाबाट अन्नपूर्ण, लाङटाङ, र रोल्वालिङ हिमश्रृङ्खला अवलोकन गर्न सकिने रहेछ। अझै अचम्म त दोलखाको पहिचान गौरीशंकर हिमाल आँखैमा टाँसिन आइपुग्ने रहेछ। मौसम उघ्रिएका बेला नीलो आकाश मुन्तिर मोतीझैं चम्केका हिमाल आँखा नझिम्क्याई हेरिरहूँझै लाग्ने। स्थानीयको अनुसार डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ रे।
कुरिबाट पुन: हामी अघिल्लो रात वास बसेको लजमा फर्किएर खाना खायौं ।त्यहाँबाट करिब चार किलोमिटर छिचोलेपछि भेटियो, भीमेश्वर मन्दिर । आदिकालमा स्थापना भएको मानिने भीमेश्वरको खास विशेषता भनेको, एक दिनमा, तीन फरक समयमा, तीन भिन्न देवताको अवतार । बिहान भीमेश्वरको अवतार, दिउसोको महादेव अवतार र साँझ भैरव भगवानको अवतार रहेको विश्वास गर्ने रहेछन, तीर्थालुहरुले ।यो देवस्थलसँग जोडिएका केही रोचक कथन र प्रसंग पनि रहेछन् । स्थानीयको अनुसार , भीमेश्वरको मूर्तिमा पसिना आएमा देशमा अनिष्ट हुन्छ रे। राजतन्त्रकालमा यसरी पसिना आएको बेला कपासले पसिना पुछेर राजदरबार पठाउने गरिन्थ्यो रे। साथै राजदरवारबाट क्षमापूजा गर्ने चलन थियो रे। नेपालमा राजतन्त्रको अन्त्य भएपछि सो कपास राष्ट्रपति कार्यलयमा पठाउने गरिएको रहेछ । दैनिक चार पटक पूजा हुने रहेछ। यहाँ बडादशैं, एकादशी तथा मछिन्द्रनाथ जात्रामा विशेष पूजाआजा हुने रहेछ।
कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गरेर मनलाई शुद्ध र आनन्द बनाउनु सबैका लागि फलदायी नै हुनेछ ।सबैलाई आफ्नो जीवनकालमा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसर मिलोस !सबैलाई सुभकामना।
(भ्रमणको बाँकी अंश अरु भागहरुमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist