खुर्कोटबाट बिहान ५ बजे हामी हलेसी तर्फ अगाडि बढ्यौं । निकै साँगुरो नागबेली बाटो हुँदै करिब ५ घण्टाको यात्रा पश्चात् हामी हलेसी महादेवको चरणमा पुग्यौं ।पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिर धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो।धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ । यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो रहेछ । यसलाई विश्वमै अनौठो भू-बनौट भन्दा अत्यास्युक्ती नहोला। घना जंगल । जंगलकै मध्यमा रहेको गुफा।हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको रहेछ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेछ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा रहेछन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास रहेछ। महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता रहेछ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिँदो रहेछ। त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिदो रहेछ । स्थानीय का अनुसार यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने रहेछ। भारत लगायत विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक यस क्षेत्रमा आउने रहेछन् ।
हलेसी पुगेपछि अनौठो त के लाग्यो भने गुफाको एकातिर हिन्दु धर्मप्रतिआस्था राख्नेहरु पुजा पाठ गरीरहेका थिए भने अर्को छेउतिर बौद्ध धर्मप्रति आस्था राख्नेहरु पुजा पाठ गरिरहेका थिए । यो बारेमा स्थानीयहरुसँग जिज्ञासा राख्दा अझै रमाइलो जानकारी प्राप्त भयो। यो स्थलमा हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्दा रहेछन् ।हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा रहेछन् ।
यस ठाउँको नाम कसरी रहन गयो भन्ने प्रसंग अझै रोचक रहेछ ।कुरा के सुन्न पाइयो भने यस ठाउँमा हलेसी नाम गरेको चरा पाइने हुनाले सबैले हलेसि भनेको हो रे। यद्यपि केही बुढापाकाको अनुसार महाभारतको युद्ध पूर्व गौ हत्याको अभियोग लागेकाले बलरामले यहाँ आई हलोले गुफा बनाई भित्र शिवलिङ्ग स्थापना गरेकाले हलेश्वर महादेव रहेको मानिने रहेछ। आर्को पौराणिक किंवदन्ती अनुसार नारायणले राक्षसको बध गरेपछि बिष्णु अर्थात् हरि यसै स्थानमा आइ महादेवलाइ दर्शन दिएकाले यहाँको नाम हरिश्वर रहन गयो भन्ने पनि मान्यता रहेछ। कालान्तरमा हलेश्वर र पछि हलेसी नाम रहन गएको किम्वदन्ती प्रचलनमा रहेछ।निकै कडा भ्रमण तालिका लिएर हिँडेका हाम्रो निम्ति प्रत्येक क्षण निकै महत्वपूर्ण थिए। हलेसीको दर्शन गरेपछि झण्डै ३५० कि.मि.को यात्रा तय गर्नुथियो।हलेसीको दर्शन पश्चात् खाना खाएर हामी इलामको कन्यामको निम्ति यात्रा सुरु गर्यौँ।
आन्तरिक पर्यटनलाई टेवा दिन सबै आफ्नो आफ्नो ठाउँबाट लागि परौँ। हलेसी महादेवको दर्शन र यहाँस्थित पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर सम्पुर्ण पाठकलाइ प्राप्त होस् भन्ने कामना गर्दछु । सबैलाई सुभकामना।

खुर्कोट पुगेर खाना खाएर बासको ब्यबस्थापन गरेपस्चात म, मुस्कानका प्रायः मित्र केशव वाग्ले सर र प्रकाश भण्डारी सर खुर्कोटको सामान्य अवलोकन गर्न निस्कियौँ । खुर्कोट सानो बजार भएपनि झन्डै ५० जति होटेल लजहरु देख्दा निकै रमाइलो लाग्यो। केहि समय हिँडेर हामी पुन: लजमा फर्कियौँ। लजमा फर्किएपछि कुशल लामिछाने सर र बिजय सापकोटा सरले चपुरवाला पानको प्रसंग निकाल्नुभयो(म २०७६-२०७९ सम्म चपुरमा बसेको हुनाले साथीहरू समयसमयमा रमाइलो गर्नुहुन्छ )। लामो भलाकुसारी पश्चात् साथीहरूले पान नखाइ नछाड्ने हुनुभयो । त्यसपस्चात पान खानको लागि केहि साथीहरू बाहिर निस्कियौँ…।
खुर्कोट बजार मध्यपहाडी लोकमार्गको किनारमा विकसित हुँदै गरेको बजारको बारेमा केहि बुझ्न मन लाग्यो ।इतिहास खोतल्दै जाँदा थाहा भयो, ७ दशक पहिले पनि खुर्कोट सानो बजारै थियो रे । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बाटोमा पर्ने खुर्कोट रामेछाप, दोलखा र ओखलढुंगाबाट काठमाडौं जाँदा र तराई झर्दा बास बस्ने ठाउँ रहेछ ।त्यो समय गाडी थिएनन्। भरिया बास बस्ने ठाउँ रहेछ । उसबेला यात्रु, भरिया बास बस्ने ठाउनै बजारका रूपमा चिनिन्थे । खाना/बासको व्यापार यस्तै ठाउँमा चल्थ्यो ।
खुर्कोट बीपी राजमार्ग निर्माण भएपछि द्रुत गतिमा सहरोन्मुख हुँदै गएको अनुभव भयो। पूर्वलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो स्थलमार्गमा पर्दोरहेछ , यो बजार । सुनकोशी नदीमा रामेछाप जोड्ने पुल बनेपछि यसमा रौनक थपिएको रहेछ । बीपी राजमार्गअन्तर्गत सिन्धुली-खुर्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट- मन्थली, खुर्कोट-घुर्मी-कटारी सडकको संगमस्थल भएका कारण खुर्कोट छिटो गतिमा सहर बन्न थालेको स्थानीयको अनुभव रहेछ । पैदल हिँड्दा बासबसिने ठाउँ गाडीमा हुँइकिदा रोकिएर खाने ठाउँ बनेको रहेछ । सुनकोशीको किनारै किनार मनोरम दृश्य हेर्दै पुगिने भएकाले काठमाडौंदेखि माछा आदिका परिकार खान मान्छे यहाँ ओईरिन थालेका रहेछन् ।

हाम्रो देश नेपाल बहुसाँसस्कृतिक, बहुजातीय, बहुधार्मिक र बहुभाषिक समाजको सुन्दर बगैंचा हो।यहाँ प्रत्येक ढुंगामा देवता छन भन्दा फरक नपर्ला । बहुसंख्यक हिन्दु रहेको समाज भएता पनि समुदाय अनुसार जीवनपद्धतिमा बिबिधता छ ।जीवन पद्धतिमा हुने विविधताले विभिन्न धार्मिक साँस्कृतिक समुदायले मानि आएका संस्कार रितिस्थिती सँगसँगै सामाजिक नियम पनि फरकफरक छन् । यहि विविधतालाई आत्मसात गर्दै अगाडि बढेको हाम्रो यात्रा दोलखा भिमेश्वोरको दर्शन पश्चात् खोटाङ हलेसीतर्फ अगाडि बढ्यो। सुर्य पश्चिमतर्फ पुगेर भर्खरै सुनौलोबाट पहेँलो हुँदै थियो ।चरिकोटबाट झन्डै १ घण्टाको यात्रा पश्चात् तामकोशिको पुलमा आइपुगियो।
साथीहरू ग्रहण लागेको दिन भएको हुँदा ग्रहण नुहाउने भन्दै नदीतर्फ लाग्नुभयो। केहि साथीहरू त्यहीँ नदि किनारमा रहेका फलफूल पसलबाट सुन्तला किनेर खान थाल्नुभयो। म चियाको पारखी चिया कता पाइन्छ भन्दै खोज्न थाले। संयोग पनि कस्तो भने तामाकोशी नदिको किनारमा उक्त दिन दुध आएको रहेनछ। दूध चिया कतै नमिलेपछि कालो चिया भएनि खानको लागी त्यहीँ एउटा सानो होटेलमा बसेर स्थानीयसँग स्थानीय बिशेषताको बारेमा जानकारी लिन थाले ।
तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी रहेछ। तामाकोशी नदी कोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी पनि रहेछ जुन अघिल्लो दिन हामीले देखेको भोटेकोशी भन्दा झन्डै दुई गुणा ठुलो लाग्यो। मैले आफ्नो बिद्यालय शिक्षाको क्रममा सुने अनुसार तामाकोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ। तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी हो। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। राजा रणबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापलाई सितलामाजु नाम दिेइएको थियो रे जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्ने स्थानीयको बुझाइ रहेछ।
तामाकोशी किनारमा चिया खाएपछि केहि हाँसीमजाक गर्दै हामी रामेछापको मन्थली हुँदै खुर्कोटतर्फ प्रस्थान गर्यौँ। बाटोमा विभिन्न किसिमका भजन गाउँदै भवानी संकर सुवेदी सरले हाम्रो यात्रामा रमाइलो थप्दै हुनुन्थ्यो। बिचबिचमा राम गौतम सरले होस्तेमा हैँशे थप्दै झन यादगार बनाउनु भयो। रमाइला भजन, बिचबिचमा साथीहरूका नाँचगानले हाम्रो यात्रा निकै छोटो बनायो।तामाकोशीबाट झन्डै २ घण्टाको यात्रा पश्चात् हामी खुर्कोट पुग्यौं ।