अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर यहीं पुष १२ गतेदेखि पोखरामा आयोजना हुने २५ औँ ‘पोखरा सडक महोत्सव’को सम्पूर्ण तयारी पुरा भएको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यो वर्ष रजत जयन्ती समेत भएकोले यस अगाडिका संस्करणमा भन्दा केही पृथक शैलीमा महोत्सव सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
लेकसाइडको करिब ३ किमि क्षेत्रको सडकमा नै हुने महोत्सवलाई व्यवस्थित गर्नको लागि अम्मट, खहरे, गौरीघाट र हल्लनेचोकमा स्टेज निर्माण गरेर विभिन्न कार्यक्रम आयोजना गरिनेछ भने कोमागाने पार्कमा मुख्य स्टेज रहनेछ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रमतर्फ चितवनबाट थारुहरुको वेषभूषा सहितको थारु स्टिक नाँच, सिन्धुलीबाट महिलाहरुको पञ्चेबाजा, रुकुमबाट मयुर नृत्य, शसस्त्र प्रहरी व्याण्ड बाजा, नौमती पञ्चेबाजा, गुरुङ्ग छेडु नृत्य, त्रिवेणी समुहको संगीत, राई लिम्बु जातीको धान नाँच, नेवार जातीको लाखे नृत्य समावेश गरिने रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्वसवका संयोजक विश्वराज पौडेलले जनाए ।
यसैगरी शिव भजन, मगर जातीको कौडा नाँच, झलकमान समुहको संगीत, हिमाली साँस्कृतिक परिवारको प्रस्तुती, एस के डान्स ग्रुपको साँस्कृतिक कार्यक्रम, काठमाण्डौबाट आउने कलाकारको इस्टुमेन्टल संगीत, विभिन्न जातजातीको मौलिक वेषभूषा साँस्कृतिक कार्यक्रम सहितको झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको अवसरमा हुनेछन् ।
कोमागाने पार्कमा हुने कार्यक्रममा लोक दोहोरी तर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपति शर्मा, प्रिति आले तथा लाइभ व्याण्डतर्फ दीपक बज्राचार्य, मुक्ति एण्ड रिभाइबल, लक्ष्य व्याण्ड, दी इलेमेन्टस् र लाहुरे मुख्य आर्कषणको रुपमा रहनेछन् ।

पुष १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा बोट रेस, वेटर रेस, टग अफ वार, भलिवल प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न खेलकुदका कार्यक्रम समेत आयोजना गरिनेछ ।
महोत्सव अवलोकनका लागि आउने सबैजनालाई सहज तरिकाले महोत्सवको अवलोकन गर्ने र सुपथ मुल्यमा खानेकुराका परिकारहरु उपलब्ध गराईने आयोजकको भनाई छ ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका निमिक्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका महासचिव विकास भट्टराईले बोलेका थिए । उनीहरुले महोत्सवका माध्यमबाट अफ सिजनमा समेत पोखरामा पर्यटकको आवागमन बढाउन सफल भएको बताए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाल अहिलेसँग कुरा गर्दै यतिबेला पोखरामा होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशतको हाराहाहारीमा रहेको बताए । महोत्सवको समयमा अकुपेन्सी ७० प्रतिशतसम्म पुग्ने उनको अनुमान छ । ‘अहिले पोखरामा होटलको अकुपेन्सी ३५ देखि ४० प्रतिशतको हाराहारीमा छ, नयाँ वर्षको समयमा ७० प्रतिशत सम्म पुग्नेछ’ उनले भने ।
उनले पोखरामा होटल नपाएर कोही पर्यटक फर्कन नपर्ने भन्दै केही भएमा आफूलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । पोखरामा रहेका साधारण होटल देखि फाइभ स्टार लेभलका होटलमा १ हजार देखि १ लाख भन्दा बढी मुल्यका कोठा रहेको भन्दै महोत्सवको समयमा पुरानो मुल्यमा नै सेवा सुविधा प्रदान गरिने समेत खुलाए ।
