पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४० औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गङ्गाबहादुर गुरुङले पानसमा दीपप्रज्ज्वलन गरी समुद्घाटन गरे ।

समुद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै डा. गुरुङले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्यमान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताए । दुई दशकअघि आफू एसओएस गण्डकीमा रहँदाको क्षणको स्मरण गर्दै गुरुङले शैक्षिक उत्कृष्टताका क्षेत्रमा विद्यालयले विगतदेखि वर्तमानसम्म कायम राखेको गरिमा र प्रतिष्ठाप्रति सराहना व्यक्त गरे । ‘गुणस्तरीय शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासको अर्काे महत्त्वपूर्ण पक्ष हो ।’ डा. गुरुङले भने, ‘विश्वका १३७ देशमा विस्तार भएको एसओएसले स्थापनाकालदेखि नै विद्यार्थीको असल आचरण र संस्कारसँगै खेलकुदलाई पनि संस्कृतिका रूपमा विकास गर्दै आइरहेको छ ।’

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा प्रधानाध्यापक सुवेदीले नियमित शिक्षण सिकाइ क्रियाकलापसँगै बालबालिकाको शारीरिक तन्दुरुस्ती र संवेगात्मक सन्तुलित विकासका लागि विद्यालयले विद्यार्थीहरूका बीचमा प्रत्येक वर्ष प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।
समारोहमा एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, गण्डकी बोर्डिङ स्कुल पोखराका प्राचार्य वीरेन्द्र खड्का, एसओएस स्कुल पोखराका प्राचार्य फुर्बू थिन्ले, एसओएस बालग्राम केन्द्रीय कार्यालय नेपालका कानुनी सल्लाहकार श्रीराम बजगाईँ, एसओएस युवालय गण्डकीका उपनिर्देशकद्वय बाबुराम बराल र राजेन्द्र रेग्मी, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस नेपालकी मानव संसाधन अधिकृत सेबिना भट्टराई, सञ्चार अधिकृत विनीता शाही, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डे, एसओएस गण्डकी भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास श्रेष्ठ, चिकित्सक पूजन बटाजूलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार सदन कप्तानहरूलाई शपथग्रहण गराई ४० औँ खेलुकद दिवसको शुभारम्भ गरे । खेलकुद दिवसको समुद्घाटन समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्पलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समुद्घाटन समारोहको अर्काे आकर्षण थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरेका थिए । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।

प्रतियोगितात्मक खेलअन्तर्गत चार सय मिटर रिले दौडमा गौरीशङ्कर सदनका मनीता कार्की, ललिता मल्ल, सुमिता कार्की र विनीता लामिछानेले प्रथम तथा अन्नपूर्ण सदनका लीला पुरी, अपेक्षा केसी, विमला पुरी र सारिका दर्जीले द्वितीय स्थान हासिल गरे । प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. गङ्गाबहादुर गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे । तीन दिनसम्म सञ्चालन हुने विद्यालयको खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुनेछन् ।