पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा हरित ज्ञान वाटिकाको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले एसओएस बालग्राम गण्डकी परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीचमा उक्त वाटिकाको शिलान्यास गरेका हुन् ।
एसओएस बालग्राम गण्डकीभित्र करिब दुई रोपनी क्षेत्रफलमा विद्यालयले निर्माण गर्ने हरित ज्ञान वाटिकामा प्राकृतिक भूबनोटभित्र विभिन्न वृत्ताकार, घनाकार, त्रिभुजाकार, वर्गाकार, आयताकार, पञ्चभुजाकार, षटभुजाकार, सप्तभुजाकार, अष्टभुजाकार, प्रिज्माकारलगायतका गणितीय स्वरूपका आकृति तथा लोपोन्मुख अवस्थामा रहेका नेपालका परम्परागत कृषि औजारहरूसमेत सुरक्षित रहनेछन् ।

३५ लाख २५ हजार ७ सय अन्ठाउन्न रुपियाँको कुल लागतमा निर्माण हुने हरित ज्ञान वाटिका निर्माणका लागि विद्यालयले एक समिति नै गठन गरेको छ । एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बरालको अध्यक्षतामा गठित उक्त समितिको सचिवमा टीकाराम सुवेदी, कोषाध्यक्षमा समिता मल्ल तथा अन्य सदस्यहरूमा प्रमोद बराल, मिलन खत्री, बुद्धि ठकुरी, धनकुमारी गुरुङ, कल्पना पाण्डे र नीलिमा पौडेल रहेका छन् ।

एसओएस बालग्राम गण्डकीले उपलब्ध गराउने जग्गामा निर्माण गरिने हरित ज्ञान वाटिका परियोजना निर्माणका लागि पोखरा महानगरपालिका वडा नं. १५ ले आर्थिक सहयोग गर्नेछ । त्यस्तै निर्मित परियोजनाको रेखदेख, संरक्षण, सरसफाइ एवम् मर्मतसम्भारको दायित्व एसओएस स्कुल गण्डकीले लिनेछ ।
शिलान्यास कार्यक्रमपछि बालग्राम परिसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले एसओएस गण्डकीमा निर्माण हुने हरित ज्ञान वाटिका विद्यालयका लागि मात्रै नभएर वडा र सिङ्गो पोखरा महानगरकै एउटा गौरवशाली परियोजनाका रूपमा रहने बताए । ‘१५ नम्बर वडाभित्रका विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि गर्न सकिने राम्रा कामका लागि वडाकार्यपालिका सधैँ तत्पर छ ।’ वडाध्यक्ष बानियाँले भने, ‘एसओएस गण्डकीमा निर्माण हुने यस परियोजनालाई पूर्णता दिने कार्यमा आगामी दिनमा पनि वडाको निरन्तर सहयोग रहनेछ ।’
एसओएसका विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा आफ्नो मौलिक पहिचान झल्काउने परम्परागत औजारहरूको चिनारीसँगै गणित शिक्षणलाई सरल र प्रभावकारी बनाउने ध्येय राखेर हरित ज्ञान वाटिका निर्माणको अवधारणा अघि सारिएको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले बताए । परियोजना निर्माणको सफलतासँगै एसओएस गण्डकी पोखरा महानगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने पनि प्राचार्य सुवेदीले जानकारी दिए ।

शिलान्यास समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का कार्यपालिका सदस्यहरू सेतीमाया गुरुङ, आशिष भण्डारी, बलराम पौडेल, मन्दिरा परियार, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डे, विद्यालयमा गठित विभिन्न क्लबका पदाधिकारी एवम् एसओएस गण्डकीका शिक्षक, कर्मचारी, विद्यार्थी तथा बालग्रामका बालबालिकाहरूको सहभागिता रहेको थियो । हरित ज्ञान वाटिका निर्माण समितिका अध्यक्ष बाबुराम बरालको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमको सञ्चालन सचिव टीकाराम सुवेदीले गरेका थिए ।
