गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीको जिम्मेवारी खोसेका छन् । संघमा सत्ता समीकरण बदलिएपछि सोमबार मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेर मन्त्रालय आफू मातहात राखेका हुन् ।गण्डकीमा नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा थिए ।
वैशाख १४ गते नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।उनको नेतृत्वमा बनेको ७ सदस्यीय मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका २ मन्त्री थिए। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।