झोलुंगे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा तथा छोटा पुलहरु थपिँदै छन् । यसै महिना बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को ५२३ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । यसअघि बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि नै ५६७ मिटर लामो झोलुंगे पुल बनिसकेको छ । जसलाई विश्वको सबैभन्दा लामो पुल भनेर दाबी पनि गरिएको थियो । अहिले बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी ७ करोड रुपैयाँमा ५२३ मिटर लामो झोलुंगे पुल बनाइएको हो । उक्त पुल सञ्चालनमा आएपछि दुई घण्टाको यात्रा १५ मिनेटमा छोटिएको छ ।
दुई वर्षमा निर्माण सक्ने गरी गत साउनबाट निर्माण शुरु भएको पुल डेढ वषमै सकिएको हो । पुल बनाउन २०७९ जेठमा सम्झौता भएको थियो । पुल सम्पन्न भइसके पनि हस्तान्तरण गर्न बाँकी रहेको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । बागलुङ बजारलाई पर्वत जिल्लाको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजलाबासीहरु घण्टौं लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
जलजलाका नागरिकहरु प्रशासनिक कामका लागि सदरमुकाम कुस्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने भएकाले पुल निर्माणले सहज बनाएको छ । पुल निर्माणले उपल्लाचौरस्थित गौरिधाम मन्दिरको महिमालाई बढाएको छ ।
पुलले स्थानीयलाई वारपार गर्न सहजमात्र बनाएको छैन, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्न थालेको छ ।