भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको भारतीय मिडिया टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । टाइम्स अफ इन्डियाको अनुसार दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । जसमा सात नेपाली रहेका छन् । दुर्घटना सोमबार राती साढे १० बजे भएको हो । भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २०० मिटर मुनी खसेको थियो । अन्धकार तथा गहिरो खोँचका कारण उद्धारमा ढिलाइ भएको थियो ।

मृत्यु हुने नेपालीमा ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् । दुर्घटनामा दुई नेपाली शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको बताइएको छ ।