पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियरलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरका इन्जिनियर शिवराज बराललाई मङ्गलवार साँझ पक्राउ गरेको हो । यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । सूचना अधिकारी शिवाकोटीको अनुसार उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ । पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका तीनै जनालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिए । घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ ।