नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी भएको छ । बुधवार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भएको भेटवार्तापछि दुई सरकारबीच सहमति भएको हो । दुई सरकारबीच नेपाल सरकार र कतार राज्य सरकारबीच युवा र खेलकुद क्षेत्रमा सहयोग सम्बन्धी समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कुटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच पनि दुई वटा सम्झौता भएका छन् ।सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।