पोखरामा तर्बुजा खाने प्रतियोगिता भएको छ । शुक्रबार पोखरा महानगरपालिका–१३ ढाँडबेशीको मणिदीप कृषि फार्म प्रतिस्पर्धामा भएको हो । प्रतियोगिताको साथै तुर्बजा समेत प्रदर्शनका लागि राखिएको थियो । प्रदर्हनीमा ७ कृषि फार्मले फलाएको तर्बुजा देख्न सकिन्थ्यो । फार्ममा फलेका तर्बुजा प्रतिस्पर्धी आफैंले छानेर टिपेर आफैंले काटेर खाएका थिए । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । तीन मिनेटमा जस्ले धेरै खान सक्यो त्यही व्यक्ति प्रतिस्पर्धाको विजेता हुने प्रतियोगितामा सहभागिताको लागि एक सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने थियो । प्रतिस्पर्धामा समीर नेपाली विजेता बने । उनले १० केजी तर्बुजा उपहारको साथमा प्रमाणपत्र पाए । त्यस्तै रामचन्द्र भट्ट दोस्रो, नरेश लामिछाने तेस्रो र नारायणप्रसाद बराल चौंथो भए । उनीहरुले क्रमशः ६, ४ र २ केजी तर्बुजासँगै प्रमाणपत्र हात पारेका छन् ।

तर्बुजा खाने मात्रै नभएर फलाउने किसानलाई पनि पुरस्कृत गरिएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । किसानले उत्पादन गरेको तर्बुजा प्रदर्शन गरेको आधारमा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको उनले जानकारी दिए । ज्ञानबहादुर कार्की उत्कृष्ट किसान घोषित हुँदै पाँच हजार रुपैयाँ हात पारे । श्रीधर बराल र रोशन बराल दोस्रो, सोभियत अधिकारी तेस्रो र बुद्धिसागर खनालले चौंथो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमशः ३, २ र १ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए । कडरियाका अनुुसार शुक्रबारको प्रदर्शनीबाट मात्रै दुई हजार एक सय किलो तुर्बजा ६० रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको छ ।
