दुर्गम हिमाली जिल्ला मुगुमा एक दशक अघिबाट सञ्चालनमा रहेको बाल आश्रम आर्थिक संकटमा परेको छ । वि.स.२०७१ सालमा खत्याड गाउँपालिका–३मा स्थापना भएको जीटीएएम बाल आश्रमबाट हाल १२ जना छात्रछात्राले सेवा पाउँदै आएका छन् । आठदेखि १७ वर्षका ती बालबालिका कक्षा १ देखि १० कक्षामा अध्ययनरत छन् । जसमा ९ जना छात्र र ३ जना छात्रा रहेका छन् । जिल्लामा रहेका बेशाहार, टुहुरा बालबालिकाहरुका लागि अम्मराज बाँनियाले उक्त बालआश्रम सञ्चालन गरेका हुन् । दाताको आर्थिक सहयोगको भरमा चलाइएको सो आश्रमलाई पछिल्लो समय सहयोग आउन छाडेपछि बालबालिकालाई आवश्यक खाने व्यवस्था गर्न समेत कठिन भइरहेको सञ्चालक बाँनियाले बताए ।

मुगु सोरुगाँउपालिका वडा नम्बर ८ कच्चे गाँउका दिपेश कार्कीले बाल्यकालमा आमा गुमाए । घरको आर्थिक अवस्था कमजोर हुँदा बुबाले आश्रम ल्याएर राखिदिए । सानैमा आमा गुमाएका उनले बुबाको माया पनि पाएनन् । आश्रम बसेको केही वर्षमै उनका बुबाको पनि निधन भयो । दाजुभाउजुले वास्ता नगर्ने बताएका दिपेशको आफ्नो घरै त्यही आश्रम भएको बताउँछन् । उनले यही वर्ष आश्रमबाटै एसइई परीक्षा दिने तयारीमा छन् । उनीजस्तै अन्य ११ जना बालबालिका विभिन्न कारणले यसै आश्रममा आश्रित छन् । विजय कार्की, दिपेश कार्की र रुपेश कामी कक्षा १० मा अध्ययनरत छन् । यस्तै, प्रकाश थापा, मनिशा रावल र जना लावड कक्षा ९, राजेश मल्ल–८, दरिन्द्र सार्की र राजेन्द्र लावड कक्षा ६, गौरव भियाल–५, दिपेश भण्डारी –३ र निशा बाँनिया ३ कक्षामा अध्ययनरत छन् ।

आश्रमका वालवालिकालाई पछिल्लो समय खान बस्न सँगै पढ्नलेख्न समेत समस्या हुने गरेको दिपेशले सुनाए । हुन त स्थानीय सरकारले आश्रमलाई सहयोग नगरेको भने होइन । खत्याड गाँउपालिकाको चार बर्ष पहिले नै ७ लाख ५० हजार रुपैयाँ बजेटमार्फत उपलब्ध गराएर आश्रमको भवन बनाइदिएको हो । जग्गा भने आश्रमको नाममा नै रहेकाले भवन निर्माण गर्न सहज भयो । पछिल्लो समय भने पालिकाबाट आश्रमलाई आर्थिक सहयोग नगरेको खत्याड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले जानकारी दिइन । तर, यो वर्षको बजेटमा प्रक्रिया पुर्याएर आश्रमले सहयोग माग गरेमा भने पालिकाले केही व्यवस्था गर्न सक्ने उनले बताइन ।