नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । सोमबार सर्वोच्चले ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा (३) बमो जिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो । न्यायधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।
सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका ८ (सभामुखसहित) र नेकपा एकीकृत समाजवादी पार्टीका १ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए । गोरखा २ ‘ख’ बाट निर्वाचित सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपनि उनले ३० दिनभित्र विश्वासको मत जुटाउनैपर्छ । तर, विश्वासको मत लिन त्यति सहज छैन । राप्रपाले मात्रै समर्थन दिएर पुग्दैन । नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) सँगै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि विश्वासको मत दिनुपर्छ ।