टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्डस् र बंगलादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले पहिलो खेलमा नेदरल्याण्ड्ससँग उत्कृष्ट नतिजा निकाल्ने प्रतिक्रिया दिएका छन् । विश्वकप अघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने उनले बताए । उनले खेलाडीको वर्षौँदेखिको सपना आज पूरा हुन लागेको जिकिर गरे । पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने उनको भनाइ छ ।