हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे रोपाई महोत्सव मनाइएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २३ फेवाफाटमा रोपाइँ महोत्सव मनाइएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले महोत्सवको आयोना गरिएको हो । यसवर्ष पोखराको ब्रण्डको रुमा रहेको जेठेबुढो धान उत्पादन हुने फेवाफाँटमा महोत्सव आयोजना गरिएको थियो । सबै सिजनका लागि पोखरा भन्ने नारासहित १९ औँ रोपाईं महोत्सव धुमधामका साथ मनाइयो ।

महोत्सवमा पर्यटकका लागि विभिन्न किसिमका प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवमा हिलोमा भलिबल, विदेशी महिला र विदेशी पुरुषको फरक फरक हिले दौड, हिलोमा माछा समाउने, गोरु जोत्ने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । देशमै पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहेको छ । नयाँ पुस्ता धानरोपाई वारे वेखवर छन् । त्यसैले असारमा रोपाईं कसरी गरिन्छ भन्ने जानकारी लिन पछिल्लो पुस्ताका नेपालीको पनि यहाँ बाक्लो उपस्थिती रहेको थियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले परम्परागत कृषि पेशालाई पर्यटनसंग जोड्न सके विदेशी पर्यटक अगमन बृद्धि गर्न सकिनेमा जोड दिए । रोपाई महोत्सवले पर्यटकको आगमन र बसाई लम्बाउन पनि सहयोग पुगेको आयोजकको भनाइ छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनिय उपस्थिति रहेको थियो ।
