त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने छ ।
शुक्रबार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् । यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन् ।

आज चौथो दिन पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको छ । आइतबार चितवन आएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
त्यस्तै, त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।
बस र यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रूपमा देखाउने प्रविधि हो । धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ ।
मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ ।