Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • निति नियम
TRENDING
  • निति नियम
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता

कमल कोइराला

बडादसैँको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि देशभरिका शक्तिपीठहरू रक्तरञ्जित हुँदै छन् । मनोकाङ्क्षा सिद्ध हुने विश्वासमा विशेषतः महाअष्टमी र महानवमीका दिन दिइने बलिका लागि अहिले देशभरि खसी, बोका, भेडा, राँगा, हाँस, परेवा, कुखुराजस्ता पशुपक्षीको किनबेचले तीव्रता पाइरहेको छ । पछिल्ला दिन खाद्य संस्थानले दैनिक हजारौँ खसी, बोका बेचिरहेको छ । देशभरिका विभिन्न स्थानबाट खसीबोका खरिदबिक्री गर्नेको मोलमोलाइ यतिवेला हेर्न लायक देखिन्छ । खसी, बोका र भेडाबाहेक च्याङ्ग्रा खरिद–बिक्रीको केन्द्रीय मुकाम मानिने पोखराको माहोल त झनै तातेको देखिन्छ यतिवेला । एक तथ्याङ्कअनुसार झन्डै पचास लाखभन्दा बढी निरीह पशुपक्षी यसपटकको दसैँमा रेटिँदैछन् । अहिंसाका पुजारी गौतम बुद्धले बुद्धत्वको पाठ पढाएको यस पावन भूमिमा वर्षैपिच्छे यसरी रगतको खोलो बगिरहनु कदाचित् शोभादायी छैन ।
मासुमा भन्दा तुलनात्मक रूपमा चना, केराउ, राज्मा, भटमास, मुङ, मुसुरो, रहर, बोडी, तिल, मेथी आदिजस्ता हाम्रा सामान्य दैनिक उपभोग्य खाद्यपदार्थबाट बढी र स्वस्थकर प्रोटिन प्राप्त हुन्छ । पेस्ता, बदाम, काजु, ओखर, पनिरलगायतका खाद्यपदार्थबाट पनि हामीले मासुमा भन्दा बढी नै पोषक तत्त्व प्राप्त गर्न सक्छौँ । पोषण विज्ञानअनुसार एक किलो मासुमा पाइने प्रोटिन ५० ग्राम चनामा पाइन्छ । एक किलो मासुलाई १२ सय पर्छ भने ५० ग्राम चनालाई १२ रुपियाँ पनि पर्दैन । स्वास्थ्यका दृष्टिले मात्र नभएर आर्थिक बचतका दृष्टिले पनि शाकाहारी भोजन कति लाभकारी रहेछ भन्ने कुरा सम्पुष्टि गर्ने यो एउटा सानो उदाहरण मात्र हो । संसारमा उत्पादित अन्नमध्ये झन्डै ६५ प्रतिशत अन्न पशुपक्षीका आहाराका रूपमा उपयोगमा आउँछ । तर, त्यसबाट जम्मा ७ प्रतिशत मासु मात्र उत्पादन हुन्छ । एक किलो मासु उत्पादन गर्न औसत सात केजी अन्न खर्च गर्नुपर्छ ।
वैश्विक तथ्याङ्कअनुसार एकातिर प्रत्येक वर्ष ७६ करोड टन अन्न पशुलाई मात्रै खुवाइन्छ । अर्कातिर विश्वका झन्डै ९० करोड मानिसहरू दैनिक खाद्यान्नको बन्दोबस्त गर्न नसकेर भोकै सुत्न विवश छन् भने बर्सेनि झन्डै तीन अर्ब मानिसहरू कुपोषणको सिकार हुने गर्छन् । यसबाट मासुजन्य पदार्थमा लगानी गर्नु बालुवामा पानी खन्याउनुजस्तै हो भन्ने कुरा स्वतः सिद्ध हुन्छ । एक अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको तथ्याङ्कअनुसार विश्वको महाशक्ति राष्ट्र अमेरिकाका मानिसले आफ्नो दैनिक भोजनबाट मांसाहार कटौती गर्न सके उक्त रकमबाट विश्वका झन्डै दश करोड भोकमरी पीडितहरूलाई पर्याप्त शाकाहारी भोजन वितरण गर्न सकिन्छ । एकचोटि सोचौँ त दैनिक भोजनमा मांसाहार मात्रै परित्याग गर्न सके पनि संसारबाट सहजै भोकमरी, गरिबी, खाद्यान्न सङ्कटलगायतका जल्दाबल्दा समस्या तुरुन्त समाधान गर्न सकिँदो रहेछ । आफ्नो सानो त्यागबाट विश्वका करोडौँ मानिसहरूको उद्धार हुन्छ भने किन कन्जुस्याइँ गर्ने ?
हाल विश्वका एक तिहाइ जनसङ्ख्यामा कुनै न कुनै किसिमको मुटुरोग रहेको देखिएको छ । तीमध्ये मांसाहार मात्र परित्याग गर्न सके झन्डै असी प्रतिशत मुटुरोगीहरूको शल्यक्रियाविना नै उपचार गर्न सकिन्छ । यस विधिको क्रमिक अवलम्बनबाट विश्वमा मुटुरोग ५० प्रतिशतले न्यूनीकरण भई मानिसले पन्ध्र वर्ष अधिक आयु प्राप्त गर्न सक्छ । त्यसो त मांसाहारीको भन्दा शाकाहारीको आयु झन्डै दुई दशक लामो हुने तथ्य अध्ययनले यसपूर्व नै पुष्टि गरिसकेको छ । सन् २०२३ सेप्टेम्बरको अन्त्यसम्मको तथ्याङ्कअनुसार विश्वको कुल जनसङ्ख्या ८ अर्बभन्दा बढी छ । तीमध्ये झन्डै एक अर्ब मानिस शाकाहारी छन् । बाँकी ७ अर्ब जनसङ्ख्याका लागि बर्सेनि झन्डै डेढ खर्ब निहत्था र निरीह पशुपक्षीले मानवइच्छा परिपूर्ति गर्न आफूलाई बलिवेदीमा समर्पण गर्नुपरेको छ । शक्तिपीठमा रेटिनुपरेको छ । बधशालामा सेरिनुपरेको छ र अचानामा टुक्रिनुपरिरहेको छ । अझ अर्काे सोचनीय कुरा त के छ भने मासुका लागि यतिका सङ्ख्यामा पशुप्राणी पाल्दा प्रत्येक वर्ष विश्वबाट नेपालभूमि बराबरको वनजङ्गल फँडानी हुने गर्दछ । यदि यही गतिले निरन्तरता पाउने हो भने एक दिन यो सिङ्गो विश्व मरुभूमिमा परिणत हुनेछ र सायद त्यो क्षण आउन अब धेरै समय बाँकी छैन ।
वास्तवमा कुनै पनि वस्तु प्रेमपूर्वक समर्पण गर्नुलाई प्रकारान्तरमा बलि भनिन्छ । काकबलि, स्वानबलि, गोग्रासबलि, पिपीलिकाबलि, बलिवैश्वदेव, क्षेत्रपालबलि, कुस्माण्डबलि, छागबलिलगायतका बलिहरूको चर्चा शास्त्रमा पाइन्छ । तर, यी कुनै पनि प्राणीहरूलाई बलि दिँदा प्राणीहत्या गरिँदैन बरु उल्टै स्नेहपूर्ण तरिकाले खान दिइन्छ । त्यस्तै मानवमनलाई कुमतितर्फ अग्रसर गराउन प्रेरित गर्ने काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई विधिपूर्वक परित्याग गरेको घोषणा गर्नु पनि बलि हो । मानवमनका यी पाँचओटै शत्रुलाई भगवतीसमक्ष समर्पण गरेको घोषणा गर्नु नै पञ्चबलि हो । तर, हामीकहाँ बोको, भेडो, राँगो, कुखुरो, हाँसजस्ता निरीह पशुप्राणीको हत्या गरेर स्वाभीष्ट सिद्धि गर्ने प्रपञ्चको अर्काे नामलाई बलिका रूपमा अथ्र्याइएको छ ।
मनुस्मृतिको पाँचौँ अध्यायको ३८ औँ श्लोकमा ‘यावन्ति पशुरोमणि तावत्कृत्वोहि मारणम् । वृथा पशुघ्नः प्राप्नोति पे्रत्य जन्मनी जन्मनी ।’ अर्थात् ‘पशुवध गर्ने व्यक्तिले त्यस मृत पशुका शरीरमा जति सङ्ख्यामा रौँहरू छन् त्यति नै जन्म नारकीय यातना भोग गर्नेछ र प्रत्येक जन्ममा त्यो पशुघातीलाई हत्या गरिनेछ ।’ भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यस्तै विष्णुपुराणको तृतीयस्कन्दको १८ औँ अध्यायको २७ औँ श्लोकमा एउटा महत्त्वपूर्ण दृष्टान्त उल्लिखित छ ः ‘निहितस्य पशोर्यज्ञ स्वर्गप्राप्तिर्यदीष्यते । स्वपिता यजमानेन किन्नु तस्मान्नहन्यते ।।’ अर्थात् ‘यदि देवीदेवतालाई यज्ञमा बलिको नाममा पशु मारेर दिँदा स्वर्ग प्राप्त हुने भए आफ्ना पिता मरेपछि त्यसैको मासु हवन गर्दा हुँदैन र ?’
हामीकहाँ पशुवध पो गर्नु हुँदैन तर अर्काले काटेर भाग लगाइदिएको मासु पकाएर खान त भइहाल्छ नि ! भन्ने अर्काे गलत मान्यता पनि स्थापित छ । तर, मनुस्मृतिको पाँचौँ अध्यायको ५१ औँ श्लोकमा ‘अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी । संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः ।।’ अर्थात् ‘पशु मार्न सल्लाह दिने, मार्ने, मारेर टुक्रा पार्ने, मासु किन्ने, बेच्ने, पकाउने, पस्किने र खाने यी सबै आठ प्रकारका हिंस्रक हुन् र यी आठैजना अभिकर्तालाई पशुहत्याको पाप लाग्छ भन्ने कुरा उल्लेख गरिएको छ । यसका साथै यस जन्ममा जुन मनुष्यद्वारा प्राणीको प्राण हरण गरिन्छ निश्चय नै अर्काे जन्ममा त्यही प्राणीद्वारा उसको हत्या गरिन्छ भन्ने शास्त्रसिद्ध मत पनि रहेको छ । बौद्धको गुम्बा, इस्लामको मस्जिद, इसाईको गिर्जाघर शिखको गुरुद्वार कहीँ पनि यस्तो जघन्य पशुहत्या निषिद्ध मानिएको छ । तर, सर्वप्राचीन वैदिक सनातन धर्ममा मठमन्दिरमा यस्तो दुःखद कृत्य हुनु सर्वथा निन्दनीय छ ।
मानिस स्वभावतः शाकाहारी प्राणी हो । प्राकृतिक दृष्टिले ऊ कहिल्यै हिंस्रक हुनै सक्दैन । यदि मानवजाति हिंस्रक हुँदो हो त ऊ आज विकसित समाजको विवेकशील प्राणी हुनै सक्दैनथ्यो । हिंसा उसको धर्म हुन्थ्यो भने सायद ऊ अहिले जङ्गलको सिंहसँग मितेरी लगाउन पुगिसकेको हुन्थ्यो । तर, आज सिंह ओढारमा बस्छ, मान्छे सुन्दर महलमा विराजमान भई आनन्दित जीवन बिताइरहेछ । दुवै प्राणधारी जीव भए पनि परिस्थितिले आज एउटालाई जङ्गलको कुनामा थन्क्याइदिएको छ र अर्कालाई सर्वश्रेष्ठ प्राणीको ताज पहि¥यादिएर समाजमा प्रतिष्ठापित गराइदिएको छ । नेपालमा मानवअधिकारको कुरा धेरै उठे पनि पशुअधिकारका कुरा खासै उठाइएका थिएनन् । पछिल्लो चरण पशुअधिकार रक्षाका लागि क्रियाशील सङ्घसङ्गठन पनि स्थापना भएका छन् । देशभरि एकातिर दसैँमा बलि दिने व्यापक तयारी भइरहँदा अर्कातिर पशुअधिकारकर्मीले यस्तो जघन्य प्रथाको घोर विरोध गरे पनि तिनीहरूका आवाज कसैले सुनिरहेको छैन ।
आफ्ना मनमा रहेका काम, क्रोध, लोभ, मोहजस्ता व्यभिचारलाई बलिस्वरूप चढाउने शास्त्रीय मत रहेको छ । तर कालान्तरमा मानिसले त्यसलाई गलत ढङ्गले परिभाषित गर्दै ती कुराहरूको प्रतीकका रूपमा रहेका जनावर नै बलिका रूपमा चढाउन थाले । दुर्गासप्तशती चण्डीमा ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ अर्थात् ‘प्रत्येक प्राणीका हृदयमा देवी मातृस्वरूप धारण गरेर बसेकी हुन्छिन्’ भन्ने कुरा उल्लेख गरिएको छ । अतः कुनै पनि पशुप्राणीको हत्या गर्नु आमाकै हत्या गर्नुसरह मानिन्छ । स्वार्थपूर्तिका लागि आफ्नै आमाको हत्या गर्नु कति युक्तिसङ्गत होला ? हामी अधिकांश मानिस समस्त प्राणीको हृदयमा ईश्वरका वास हुन्छ भन्ने आदर्शबाट निर्देशित छौँ । आत्मा परमात्माको एक अंश हो भन्ने कुरा वकालत गर्न पनि हामी पछि पर्दैनौँ । यदि सबै प्राणी परमात्माका अंश हुन् र सबैभित्र ईश्वरीय अंश छ भने तिनै ईश्वरीय अस्तित्वले युक्त प्राणीको हत्या गरेर फेरि तिनै ईश्वरलाई नै समर्पण गर्दा कुनचाहिँ सच्चा ईश्वरलाई खुसी पार्न सकिएला ? एकछिन कल्पना गरौँ त ?
बलि वैदिक सनातन धर्मावलम्बीहरूमा प्रचलित सर्वाधिक घृणित पक्ष हो । देवीदेवतालाई प्रसन्न पारेर आफ्नो मनोकाङ्क्षा पूरा गर्ने निहुँमा हामीले मन्दिरमा रगतको आहाल पर्ने गरी पशुपक्षीको बलि दिन्छौँ । पाशविक छप्काइबाट असह्य भएर चित्कारको करुण ध्वनि निकाल्दै गरेका पशुपक्षीको रगतका छिर्काले देवतालाई नुहाइदिन्छौँ । देवीदेवतालाई रगतले स्नान गराइदिएपछि उनीहरू खुसी हुन्छन् भन्दै आफ्नो दानवीय व्यवहार प्रदर्शन गर्छाैँ । हामीमा देवताले रगत पिउँछन् भन्ने भ्रम छ । यस्तो भ्रम पाल्नेहरूलाई मेरो एउटा प्रश्न छ, यदि देवीदेवताले नै तनतनी रगत पिउने भए देवता र दानवमा के भिन्नता रह्यो त ? अतः देवतालाई बलि चढाउने कुरा ‘सुत्केरीको निहुँ पारी टाउको आफैँ खानु’ भनेझैँ हो । यसमा कुनै शास्त्रीय प्रमाण वा विज्ञानसम्मत सत्य छैन । यसर्थ सबैले दसैँ बलिमुक्त बनाउने प्रयास गर्ने कि ?

लेखक एस.ओ.एस. गण्डकीका शिक्षक हुन
lotuskoirala@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist