Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रदर्शनीमा विज्ञान विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिएका थिए ।


विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । उनीहरूले आफ्ना प्रदर्शनीहरूलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । वर्तमान अवस्थामा तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान र अन्तरिक्ष विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तमा आधारित चाप, गति, बल, शक्ति, सौर्यऊर्जा, विद्युत्, चुम्बक, प्रकाश, ध्वनि, पर्यावरण, अन्तरिक्ष, सुरक्षा संवेदनशीलता, जैविक विविधता, हरित सहर, जल प्रशोधन प्रक्रिया, थोपा सिँचाइ, विभिन्न यान्त्रिक उपकरणहरूको उपयोगितालगायतका क्षेत्रको विविधतापूर्ण प्रस्तुति प्रदर्शनीमा समावेश गरिएको थियो ।


प्रदर्शनीका लागि विद्यार्थीहरूले एक महिनाभन्दा बढी समय लगाएर आफ्ना परियोजनाहरू तयार पारेका थिए । विविध क्षेत्रका आगन्तुक अभ्यागतका साथै पोखराका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले समेत प्रदर्शनीको अवलोकन गरेका थिए । विद्यार्थीहरूको एकल, युगल र सामूहिक प्रस्तुति रहेको उक्त प्रदर्शनीमा विविध क्षेत्रका जम्मा ९२ स्टल समावेश गरिएको थियो ।


आधारभूत र माध्यमिक तह गरी दुई समूहमा आयोजित उक्त प्रदर्शनीको माध्यमिक तहमा पनि कक्षा ९ र १० तथा ११ र १२ का विद्यार्थीहरूले छुट्टाछुट्टै प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका परियोजनामूलक स्टलहरूको मूल्याङ्कन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लेखनाथ खनाल, गण्डकी बोर्डिङ स्कुलका वरिष्ठ विज्ञान शिक्षक राजकुमार ढकाल, विश्वशान्ति जैविक विविधता उद्यानका वैज्ञानिक धर्म कोइराला, इन्जिनियर विनोद गिरी, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसका प्राध्यापक इन्जिनियर प्रबिज जोशी र शीतलादेवी माविका भौतिक शास्त्रका शिक्षक दुर्गा सुवेदीले गरेका थिए ।


प्रदर्शनीमा आधारभूत तहतर्फ आयुष पाण्डेले प्रथम, मोहम्मद अनिसले द्वितीय तथा आदित्य भट्ट, विविशा पौडेल र समृद्धि क्षेत्रीको समूहले तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा अनुपमा अधिकारी प्रथम, स्मारिका न्यौपाने र नेरिन बरालले द्वितीय, आर्जित लामिछानेको समूहले तृतीय तथा आज्ञा शर्माले सान्त्वना स्थान हासिल गरेका थिए भने कक्षा ११ र १२ मा सचेत सुवेदीको समूले प्रथम, नीलिमा पौडेल र वसन्ती तिमिल्सिनाको समूहले द्वितीय तथा कृष श्रेष्ठको समूले तृतीय स्थान हासिल गरेका थिए । विज्ञान प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी तथा प्रदर्शनीका निर्णायकहरूले संयुक्त रूपमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।


विज्ञानका सैद्धान्तिक कुराहरूलाई प्रायोगिक विधिबाट सिकाउने वातावरण सिर्जना गराउन तथा वास्तविक जीवनमा तिनीहरूको उपयोगिताका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षित गर्दै उनीहरूलाई लघुअनुसन्धानतर्फ अभिप्रेरित गर्ने मान्यताबाट प्रेरित भएर एसओएसले बृहत् विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । विद्यालयको विज्ञान प्रदर्शनीलाई बृहत् स्वरूप दिएर सफल पार्न अहोरात्र समर्पित भएर लागिपर्ने विद्यार्थी तथा शिक्षकहरूको नवप्रवर्तनकारी सोच, धैर्य र लगावप्रति प्रधानाध्यापक सुवेदीले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरे ।


प्रमुख अतिथिको आसनबाट बोल्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तनकारी सोचका साथै आत्मविश्वासको विकासका लागि यस्ता प्रदर्शनीहरू सहायक हुने बताउँदै निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एसओएस यस्तै नवीन परियोजनामूलक गतिविधिका कारण धेरै अभिभावक र बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए ।


विज्ञान प्रदर्शनीको औपचारिक समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष मिलन खत्री, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । एसओएस स्कुल गण्डकीका रसायनशास्त्रका शिक्षक प्रमोद बरालद्वारा सञ्चालित उक्त समारोहमा विज्ञान प्रदर्शनी–२०८१ का संयोजक मिलन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist