‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विद्यालयका संस्थापक श्री शम्भुलाल कार्कीको सभापतित्व ४० औँ वार्षिकोत्सव, एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए । दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना प्राप्त गरेका थिए । त्यसैगरी मा.वि.तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना प्राप्त गरेका थिए । यस एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहनुभएको थियो ।
यसैगरी वार्षिक रुपमा भइरहने खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । भने उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेल तथा सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।