पोखरा ८ जेठ ।
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विद्यार्थी प्रमुख तथा उप–प्रमुख चयन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्न तथा विद्यालयलाई अनुशासित क्षेत्र बनाउनका लागि र विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको बारेमा पनि जानकारी गराउनको लागि मतदान प्रक्रियाबाट प्रमुख तथा उपप्रमुखको छनोट गरिएको छ । ६ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरी प्रमुख तथा उपप्रमुखको छनोट गरेका छन् । यस कार्यक्रमलाई सहयोग र सफल गराउन शिक्षक होमराज अधिकारीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
उक्त निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की प्रमुख र सोही कक्षामा अध्ययनरत छात्र सक्षम बाँस्तोला उप–प्रमुखमा अत्याधिक मत ल्याएर निर्वातिच भएका छन् । खादा र ब्याज वितरण गर्दै विद्यालयका प्राचार्यले प्रमुख तथा उपप्रमुखलाई सपथ ग्रहण पनि गराउनुभएको थियो ।












