२०८२ जेष्ठ २२, पोखरा
५३ औँ विश्व वातावरण दिवसको अवसरमा कालिका माध्यमिक विद्यालय, पोखरा–१० रामबजारमा विविध कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। विद्यालयमा क्रियाशील विज्ञान तथा वातावरण प्रदर्शनी क्लब, दिगो पर्यटन क्लब र कालिका स्वच्छ वातावरण तथा सरसफाइ क्लबको संयुक्त आयोजनामा सरसफाइ, बृक्षारोपण, चित्रकला तथा वातावरण प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ। पहिलो चरणको कार्यक्रममा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रमको प्रारम्भ विद्यालयको प्राङ्गणको सरसफाइ अभियानबाट गरिएको थियो। अभियान कालिका माविको हाताभित्र मात्र सीमित नरहेर राममन्दिर परिसर, कालिका मन्दिर क्षेत्र, वडा नं. १० को वडा कार्यालय परिसर, कालिका चोक लगायत वरपरका क्षेत्रहरूमा विस्तार गरिएको थियो। यस अभियानले विद्यार्थीहरू तथा जनसमुदायमा वातावरणप्रति उत्तरदायित्वको भावना विकास गर्नुका साथै सार्वजनिक स्थानहरूको स्वच्छतामा ध्यानाकर्षण गराएको सहभागी शिक्षक बिजय सापकोटाले जानकारी दिनुभयो।

सरसफाइपछि विद्यालय हाताभित्रै बृक्षरोपण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक बहादुर थापा, प्रधानाध्यापक श्रीराम आचार्य, विव्यस सदस्यहरू मनोज गुरुङ, नारायण श्रेष्ठ, शिक्षक प्रतिनिधि पूर्णबहादुर गुरुङ , सहायक प्रधानाध्यापकहरु,प्रावि इन्चार्ज, शिक्षकगण र विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो। बृक्षारोपणमार्फत वातावरण संरक्षणको व्यवहारिक अभ्यासले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति थप सचेतना प्रदान गरेको शिक्षक अर्जुन बहादुर कार्कीले जानकारी दिनुभयो। बृक्षारोपण कार्यक्रमपस्चात वातावरणीय प्रदर्शनी तथा चित्रकला प्रतियोगिता सप्पन्न भएको थियो। प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषर्ण बिरूद्ध लागौं” भन्ने नारा तय गरिएको थियो

विज्ञान तथा वातावरण प्रदर्शनी क्लब र दिगो पर्यटन क्लबको संयोजनमा सञ्चालित प्रतियोगितामा विद्यार्थीहरूले प्रकृति, वातावरणीय संकट र संरक्षणसम्बन्धी सन्देशहरू सिर्जनात्मक ढंगले प्रस्तुत गरेका थिए।उक्त प्रदर्शनीलाई बिद्यालय ब्यबस्थापन समिति, सम्पुर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुले अभिरुचिपुर्वक अवलोकन गर्नुभएको थियो। कार्यक्रमको संयोजन बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सीमा खत्रीले गर्नुभएको थियो। कार्यक्रमहरूको मूल उद्देश्य विद्यार्थीहरूमा वातावरणप्रतिको चेतना अभिवृद्धि, सामाजिक उत्तरदायित्वको विकास, र सृजनात्मक अभिव्यक्तिको अवसर प्रदान गर्नु रहेको बिद्यालयका सहायक प्रधानाध्यापक कुशल लामिछानेले जानकारी दिनुभयो ।
