४,पुष पोखरा ।
पोखरा महानगरपालिकाको वडा नं.१० मा रहेको कालिका मा.वि. र कालिका पब्लिक कलेज मा खेलकूद सप्ताहको उद्घाटन सम्पन्न भयो । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कास्कीमा अग्रणी स्थानमा रहेको यस विद्यालय तथा कलेजको खेलकूद सप्ताहको उद्घाटन पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङ्गले बेलुन उडाएर तथा खेलाडीहरुलाई बल हस्तान्तरण गरि गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायिक विद्यालय व्यवस्थापन महासंघ,कास्कीका अध्यक्ष दिपकवहादुर थापाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन खेलकुद संयोजक विजय सापकोटाले गरेका थिए ।
खेलकुद सप्ताह संचालन गर्नको लागी बिभिन्न २२ उप समिति गठन गरिएको र खेलकूद सप्ताहभरी स्कुल तथा कलेजका गरी १२ टिम छात्र फूटवल, १० टिम छात्र भलिवल, ८ टिम छात्र वास्केटवल र ६ टिम छात्रा भलिवल, ५ टिम छात्रा वास्केटवल, त्यसैगरी डोरी तान्ने खेलमा ८ टिम छात्र र ७ टिम छात्राले समूहगत रुपमा सहभागिता जनाउने संयोजक विजय सापकोटाले वताए । आधारभूत तह नर्सरी देखि कक्षा ५ सम्म कक्षागत रुपमा उमेर समूह अनुसार विभिन्न प्रतियोगिताहरु रहने जानकारी प्राईमरी इन्चार्ज लेकमाया पुनले वताइन । यसै गरी एथलेटिक्स तर्फका हाइजम्प, लङ्गजम्प, सटपुट, ज्याभलिन थ्रौ र ट्रयाक तर्फका १००/२००/८००/१५०० मिटरको दौड पौष ७ गते पोखरा रङ्गशालामा हुने बिद्यालयका सहायक प्रध्यानाध्यापक लक्ष्मीकान्त अधिकारीले बताए ।

खेलकूद सप्ताहमा सकेसम्म सम्पूर्ण बिद्यार्थीहरुलाई समेट्ने गरी खेलहरुको ब्यवस्था गरिएको र म्यूजिकल चियर र घैटो फुटाउने खेल समेत रहने जानकारी कलेज प्रमुख ज्योतिबाबु पौडेलले दिए ।
सभाध्यक्ष दीपक बहादुर थापाले खेलकुद सप्ताह विद्यालयको नियमित गतिविधि मात्र नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकासको महत्वपूर्ण आधार भएको बताउँदै विद्यार्थीहरूलाई खेल भावना कायम राखी अनुशासन र मर्यादाका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे। खेलकुद सप्ताहले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, शारीरिक–मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास विद्यालय परिवारले लिएको बताए ।













