पोखरा, पौष ।
जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ५२ औं साधारणसभा सम्पन्न भयो । सहकारी विभागद्वारा जारी निर्देशन बमोजिम साधारणसभा सम्पन्न गरिएको हो । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालले सहकारीका मापदण्ड, संसोधित ऎन, निर्देशनहरुका बारेमा प्रशिक्षण दिनुहुँदै आफ्नो कार्यालयले निष्क्रिय सहकारी संघ संस्थाहरुलाई सक्रिय वा दर्ता खारेज गराउन तर्फ कार्य गरिरहेको जानकारी गराउनु भयो ।

सो साधारणसभाको अवसरमा भाद्र २३ र २४ गतेको GenZ आन्दोलनका क्रममा संघको परिसरमा रहेकोे डेरी उद्योग र कार्यालयलाई आगलागी तथा तोडफोड हुनबाट जोगाउन महत्त्वपूर्ण भुमिका खेल्ने सम्पुर्ण कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित प्रभातफेरीमा प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः शुभ सौगात बचत तथा ऋण, समग्र महिला बहुउद्देश्यीय र शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रारम्भिक संस्थामा अध्यक्षको भुमिकामा रही ७५ वर्ष पूरा हुनुभएका १० जना अग्रजहरु, गुणस्तरीय दुध उपलब्ध गराउने भिडाबारी दुग्ध उध्पादक सहकारी संस्था, उत्कृष्ट व्यवसाय विधा तर्फ प्रतिभा सामाजिक उद्धमी महिला सहकारी संस्था र जनसेवा बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट व्यवस्थापक विधा तर्फ लेखनाथ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गोविन्द लामिछाने र पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संस्थापक अध्यक्ष स्व. मेजर तुलसी प्रसाद गुरुङको स्मृतिमा स्थापना गरेको सहकारी अभियन्ता पुरस्कारबाट सुदिप ढकाल पुरस्कृत भएका थिए ।

जिल्ला सहकारी संघ लिमिटेडको तर्फबाट अध्यक्षको प्रतिवेदन दिपक राज बाँस्तोलाले, कोषाध्यक्षको प्रतिवेदन भोजराज घिमिरेले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन रुद्र नाथ पौडेलले प्रस्तुत गर्नुभएका प्रतिवेदन उपर छलफल गरि संस्थाको विनियम पुनर्लेखन प्रस्ताव सहित पारित भएको छ । संघका अध्यक्ष दिपक राज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो सभामा बरिस्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन र महासचिव दिपक प्रकाश आचार्यले संचालन गर्नुभएको थियो ।













