पोखरा — माघ ।
भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक सेवामूलक संस्था एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालमा औपचारिक रूपमा शुभारम्भ तथा पदस्थापन हुने भएको छ। डिष्ट्रिक गभर्नर थिरबहादुर थापाका अनुसार उक्त डिष्ट्रिकको ऐतिहासिक पदस्थापन समारोह यही माघ ९ गते शुक्रबार पोखरा–पस्र्याङस्थित ताज महल इभेन्ट सेन्टरमा आयोजना गरिनेछ। एलायन्स क्लब डिष्ट्रिक १०५ साउथ मल्टिपलको स्पोन्सरमा स्थापना हुन लागेको यो क्लव नेपालमै पहिलो पूर्ण डिष्ट्रिक हुने भएको छ। डिष्ट्रिक गभर्नर थापाले नेपालमा क्लव अभियानका लागि यो महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

पदस्थापन समारोहमा एलायन्स क्लवका इन्टरनेशनल प्रेसिडेन्ट राजकुमार सक्सेना, फाउण्डर प्रेसिडेन्ट थिरूपति बुद्धराजु, भाइस प्रेसिडेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलकी डिष्ट्रिक गभर्नर उषरानी अटलुरीलगायत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्वको उल्लेख्य सहभागिता रहनेछ। भाइस डिष्ट्रिक गभर्नर डा. लक्ष्मण तिमिल्सीनाले भारत तथा नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई अझै भव्य बनाउने बताए।
डिष्ट्रिक गभर्नर थापाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने हाल क्लव सदस्यता दर्ता प्रक्रिया तीव्र रूपमा चलिरहेको छ। कार्यक्रममा काठमाडौं, तनहुँ, कास्की लगायत विभिन्न जिल्लाबाट एलायन्स क्लवका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। मानवीय तथा सामाजिक सेवामा सक्रिय यस क्लवले नेपालमा आफ्नो गतिविधि विस्तार गर्दै जाने योजना बनाएको छ। डिष्ट्रिकमार्फत पोखरामा मात्रै करिब ४० वटा क्लव गठन गरिने जानकारी एलायन्स क्लब पोखरा सिटीका संस्थापक अध्यक्ष ई.कुन्दनराज शर्माले दिए। उनका अनुसार यसले स्थानीय स्तरमा सामाजिक सेवाको पहुँच विस्तार गर्नुका साथै युवाहरूलाई सेवा र नेतृत्वमा जोड्नेछ।
यस क्लवले भारतका विभिन्न स्थानमा ज्येष्ठ नागरिक केन्द्र, क्यान्सर केयर अस्पताल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। सोही अनुभव र प्रतिबद्धताका आधारमा नेपालमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताइएको छ। आयोजकहरूका अनुसार यस किसिमको अन्तर्राष्ट्रिय डिष्ट्रिकको स्थापना तथा कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। अन्तर्राष्ट्रिय पाहुनाको आगमनले पोखरालाई सामाजिक सेवासँगै अन्तर्राष्ट्रिय नेटवर्किङको केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।
नेपालमा पहिलो पटक पूर्ण डिष्ट्रिकको रूपमा स्थापना हुन लागेको डिष्ट्रिक १०५५ को यो शुभारम्भलाई सामाजिक सेवा क्षेत्रको नयाँ अध्यायका रूपमा हेरिएको छ।













