Tuesday, February 17, 2026

आजको मिति: २०८२ फाल्गुन ५ ,मंगलवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
लक्ष्मी माविमा आमाको स्मृतिमा अक्षयकोष स्थापना
Next
Prev

श्री सिद्धबराह आधारभूत विद्यालय कास्कीकोट गुन्टेचौरमा खुला भजन प्रतियोगिता सम्पन्न

पोखरा, फाल्गुन ।
पोखरा महानगरपालिका वडा नं–२४, कास्कीकोट गुन्टेचौरस्थित श्री सिद्धबराह आधारभूत विद्यालयले आफ्नो हिरक जयन्ती महोत्सवको अवसर पारेर खुला भजन प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री काशीराम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका–२४ का वडा अध्यक्ष श्री भरतबहादुर अधिकारीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी तथा विद्यालयका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष अधिकारीले कास्कीकोट क्षेत्रको शैक्षिक इतिहासमा विद्यालयले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको चर्चा गर्नुभयो । उहाँले विद्यालयका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै निकट भविष्यमा विद्यालयमा माध्यमिक तहसम्म अध्ययन–अध्यापन सञ्चालन गर्न आवश्यक पूर्वाधार र स्रोत सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, आगामी आर्थिक वर्षमा वडाबाट हिरक जयन्ती महोत्सव सफल बनाउन आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि तथा पोखरा महानगरपालिका–२४ का सदस्य एवं शिक्षा समिति सदस्य श्री कृष्णप्रसाद सुवेदीले आयोजक टोलीलाई धन्यवाद ज्ञापन गर्दै हिरक जयन्ती महोत्सवलाई ऐतिहासिक बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विभिन्न आठ समूहको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा धर्मस्थली बाल अध्ययन अनुसन्धान कला केन्द्र, पोखरा–५ को समूह प्रथम स्थान हासिल गर्न सफल भयो । गुन्टेचौर भजन समूह द्वितीय, सदाशिव भजन समूह तृतीय तथा बसन्त आधारभूत विद्यालयको समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विद्यालयका विद्यार्थीहरूले भजनमार्फत सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक र आध्यात्मिक वातावरणयुक्त बनाएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो, जसले समारोहलाई थप गरिमामय र आकर्षक बनाएको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य तथा वरिष्ठ स्रष्टा तारापति सुवेदी, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, राष्ट्रिय लोक भजन संरक्षण समितिका केन्द्रीय विशिष्ट उपाध्यक्ष प्रेमप्रसाद अधिकारी तथा कृष्णप्रसाद भट्टराईले आ–आफ्ना सांगीतिक प्रस्तुति मार्फत दर्शक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

उहाँहरूले प्रस्तुत गर्नुभएको भजन, लोकगीत तथा दोहोरी गीतहरूले धार्मिक आस्था, सांस्कृतिक परम्परा र लोकजीवनका विविध आयामहरू उजागर गरेका थिए । विशेष गरी आध्यात्मिक भजन र मौलिक लोकधुनहरूले कार्यक्रमस्थलमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । कलाकारहरूको प्रस्तुति क्रममा दर्शकहरूले उत्साहजनक सहभागिता जनाउँदै ताली तथा साथ–सहयोगमार्फत सम्मान प्रकट गरेका थिए । उक्त सांगीतिक प्रस्तुतिले विद्यालयको हिरक जयन्ती महोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गरेको आयोजक समितिले जनाएको छ । राष्ट्रियस्तरका कलाकारहरूको सहभागिताले कार्यक्रमको गरिमा, विश्वसनीयता र प्रभावकारिता थप उचाइमा पुगेको सहभागीहरूले बताएका थिए ।
हिरक जयन्ती महोत्सव तथा खुला भजन प्रतियोगिता सफल बनाउन पूर्व विद्यार्थीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको आयोजक समितिले जनाएको छ । विशेषतः पूर्व विद्यार्थी एवं प्रचार–प्रसार उपसमितिका संयोजक साजन सुवेदीले कार्यक्रमको अवधारणा विकासदेखि प्रचार–प्रसार, विभिन्न समूहसँग समन्वय, अतिथि व्यवस्थापन तथा समग्र कार्यक्रम संरचना तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्वमा सामाजिक सञ्जाल, स्थानीय संचारमाध्यम तथा समुदायस्तरमा व्यापक प्रचार अभियान सञ्चालन गरिएको थियो, जसका कारण कार्यक्रमप्रति उल्लेखनीय जनसहभागिता देखिएको आयोजक समितिले जनाएको छ ।

त्यसैगरी,पूर्व विद्यार्थीहरु टिकराम सुवेदी भेषबहादुर के।सी, दुर्गाप्रसाद सुबेदी, लिलाधर चपाईं, बोधराज सुबेदी, डिल्लीराम अधिकारीले कार्यक्रम व्यवस्थापन, प्रमाणपत्र छपाइ, अतिथि समन्वय, आर्थिक सहयोग संकलन तथा पुरस्कार व्यवस्थापनमा अग्रसर भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरुले विभिन्न दाताहरूसँग समन्वय गरी सहयोग जुटाउने कार्यमा नेतृत्वदायी भूमिका खेल्दै विद्यालयप्रतिको आत्मीयता र प्रतिबद्धता प्रकट तथा हिरक जयन्ती वर्षभर सञ्चालन हुने कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुको व्यवस्थापकीय दक्षताका कारण कार्यक्रम अनुशासित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकहरूको भनाइ छ ।

आर्थिक उपसमितिका संयोजक लेखनाथ सुवेदीले आर्थिक व्यवस्थापन, हिसाब पारदर्शिता तथा अक्षयकोष स्थापनाको प्रारम्भिक संरचना निर्माणमा नेतृत्व प्रदान गर्दै आर्थिक संकलन कार्य निरन्तर जारी रहेको जानकारी दिँदै सबैमा सहयोगका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा पूर्व विद्यार्थी तथा स्मारिका प्रकाशन उपसमितिका संयोजक लोकनाथ सुवेदीले विद्यालयको गौरवशाली इतिहासलाई दस्तावेजीकरण गर्ने उद्देश्यले तयारी भइरहेको स्मारिका प्रकाशनलाई समृद्ध र तथ्यपरक बनाउन शिक्षक–शिक्षिका, विद्यार्थी, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक, समाजसेवी, तथा विद्यालयसँग सरोकार राख्ने सम्पूर्ण पक्षलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विद्यालयसँग सम्बन्धित ऐतिहासिक अभिलेख, पुराना कागजात, फोटो, लेख, संस्मरण, अनुभव तथा शैक्षिक यात्रासँग जोडिएका सामग्री उपलब्ध गराई स्मारिकालाई विद्यालयको ऐतिहासिक धरोहरका रूपमा स्थापित गर्न सबैमा अपिल गर्नुभयो । उहाँको सम्बोधनले विद्यालयप्रति भावनात्मक सम्बन्ध, उत्तरदायित्वबोध तथा सामूहिक प्रयासमार्फत शैक्षिक उन्नयन सम्भव हुने सन्देश प्रवाह गरेको सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।

विद्यालयको दीर्घकालीन शैक्षिक विकासलाई दिगो बनाउने उद्देश्यले हिरक जयन्ती वर्षमा अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ । यस भजन प्रतियोगीताको अवसरमा पूर्व विद्यार्थी तथा समाजसेवी बलराम सुवेदी र उहाँकी धर्मपत्नी जमुना सुवेदीबाट रु। ५०,००५, बेदहरी पौडेल र उहाँकी धर्मपत्नी सिता पौडेलबाट रु। ३०,१५०, चन्द्रकान्त त्रिपाठीबाट रु। ५,००५, कुलप्रसाद पौडेलबाट रु। ५,०००, टिकराम सुवेदीबाट रु। २,००५, रुद्रप्रसाद सुवेदीबाट रु। २,१०० लगायत अन्य दाताहरूबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको जानकारी दिइएको छ । सहयोग रकम विद्यालयको पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण सामग्री व्यवस्थापन तथा विपन्न विद्यार्थी सहयोग कार्यक्रममा उपयोग गरिने जनाइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हिरक जयन्ती महोत्सवका संरक्षक काशीराम सुवेदीले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय समुदाय तथा स्वदेश–विदेशमा रहेका विद्यालयप्रेमीहरूलाई एकताबद्ध भई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले हिरक जयन्ती महोत्सव विद्यालयको गौरवपूर्ण इतिहासको सम्मान गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने साझा अभियान भएको स्पष्ट पार्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका पूर्व विद्यार्थी तथा वर्तमान प्रधानाध्यापक विनोद सुवेदीले गर्नुभएको थियो । हिरक जयन्ती वर्षभरि शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद, पूर्वाधार विकास, अक्षयकोष विस्तार, पूर्व विद्यार्थी सम्मेलन तथा स्मारिका प्रकाशन लगायतका विविध कार्यक्रमहरू चरणबद्ध रूपमा सञ्चालन गरिने जनाइएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर, संस्थागत क्षमता र सामाजिक विश्वासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist