वीरगञ्ज, ६ बैशाख ।
वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकखण्डलाई फराकिलो बनाउने अभियान आज एकाबिहानैदेखि सुरु गरेको हो । कार्यालयले सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर प्रयोग गरेको हो । त्यसका लागि सुरक्षाकर्मीसहित करिब एक दर्जन डोजर, जेसीबीलगायत उपकरण प्रयोग गरिएको छ ।
यसअघि यो क्षेत्रका घरधनीले बस्ती जोखिममा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले गत २८ फागुनमा रिट खारेज गरिदिएको थियो । यद्यपि, त्यसपछि सडक विस्तारको काम सुरु हुन सकेको थिए । हाल संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशनमा अभियान सुरु गरिएको जनाइएको छ । बिनासूचना संरचना भत्काउन डोजर परिचालन गरिएको भन्दै स्थानीय आपत्ति जनाएका छन् ।














