पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं.३ मा रहेको जीवनज्योती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताए । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामाग्री, ब्याडमिन्टन, भलिबल, फुटबल, बास्केट बल, केरमवोर्ड, हाईजिनीक प्याक, लगायत १९ थरीको सामाग्रीहरू वितरण गरिएको थियो ।
विद्यालयमा आउने अधिकांश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुदमार्फत पनि आफूलाई अगाडी बढाउन आवश्यक रहेको कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी महतोले बताए । यस्तै, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले खेलकुद र शैक्षिक सामाग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीले आग्रह गरे ।
विद्यार्थीलाई सडक विस्तारका क्रममा विभिन्न ठाउँमा निमार्ण सामाग्री राखिएको साथै नाला बनाउने, माटो भर्ने, कालो पत्रे गर्ने कार्य तीव्र रूपमा भएकाले सडकमा आवतजावत गर्दा विद्यार्थीले सुरक्षा अपनाउनका लागि लक्ष्मण गुरुङले सचेत गराएका थिए । यसअघि पनि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तीन विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।