बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो ।
भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै प्रतियोगिताले खेलकुद मार्फत पोखराको पहिचान गराउन सहयोग मिल्ने बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक सालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने संगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने–“म पनि कुनै बेला फुटबलको खेलाडी थिंए । आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।”
कार्यक्रममा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।
पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव ९आनन्द० रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ ९सन्तोष० र शकिल गुरुङ रहेका छन् ।
टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाको चिनो स्वरुप खेल पोशाका प्रदान गरेका थिए ।