गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ ।
वैशाखको अन्तिम सातातिर सङ्क्रमित गाईभैँसीको सङ्ख्या १५ हजार भएको विभागले जनाएको छ । पहिला यस रोगबाट ३५ जिल्लामा फैलिएको पुष्टि भएकोमा अहिले ७१ वटा जिल्लामा फैलिसकेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखराका कार्यालय प्रमुख डा. मनबहादुर पुनले अहिले गण्डकी प्रदेशको ११ वटै जिल्ला प्रभावित भएको विवरण प्राप्त भएको जानकारी दिए । डा. पुनका अनुसार लम्पी स्किन रोगका कारण गाईभैँसी मर्नु भनेको यसको ठूलै असर देखिनु हो । नेपालमा लम्पी स्किनका कारण १ खर्बको नोक्सान हुने अनुमान गरिएको छ डा.पुनले भने । राज्यले नै यसलाई गम्भीर रूपमै लिनुपर्छ । यो त ठूलो चिन्ताको विषय हो,” डा.पुनले भने ।
लम्पी स्किन रोगका कारण गाईभैँसीको दूध उत्पादनमा पार्ने असर चिन्ताजनक भएको पशु डा. पुनले बाताए । रोगप्रतिरोधी क्षमता कम भएका गाईभैँसी यसबाट मर्ने भए पनि ’प्रोडक्शन लस’ चाहिँ सबैमा हुन्छ । उदाहरणका लागि, १० लिटर दूध दिनेको दुई लिटरमा झर्ने डा. पुनको भनाइ छ त्यस्तै, रोग लागेपछि उत्पादित वस्तु मानवले उपभोग गर्दा कुनै किसिमको प्रभाव नपर्ने डा. पुनको भनाई छ । यसको व्यवस्थापनको लागि आगामि आर्थिक वर्ष व्यापक रुपमा लैजाने निर्देशनालयले बताएको छ । साथै यसको लागि उपयुक्त बजेट र जनशक्तिको आवश्यकता रहेको जनाएको छ ।
निर्देशनालयको अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो सब–सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो । राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो ।
यो रोग आर्थिक वर्ष २०७७÷०७८ मा नेपालका आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने २०७८÷०७९ मा नौ जिल्लाका १९ पालिकामा फैलिएको पाइयो । त्यसपछि २०७९÷०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागले जनाएको छ । शुरूतिर तराई र मध्य पहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगिसकेको छ ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । यसले मुख्यतया बाछाबाछी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्छ ।