पर्यटन ब्यावसाय प्रर्वधन गर्न स्वस्थ प्रतिस्पर्धा आवश्यकता रहेको छ । तर पोखराको पर्यटक बसपार्क, पृथ्वीचोक र यहाँको बसपार्कबाट पर्यटकका झोला तानातान गर्ने क्रम पटक पटक दोहोरिएको छ ।
विभिन्न होटलका प्रतिनिधि पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई बिजयपुरबाट र सिद्धार्थ राजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई छोरेपाटन र पोखरा भ्यू प्वइन्टसम्मै पुगेर रोक्ने, होटलको बार्गेनिङ गर्ने गरेको घटनासमेत सार्वजनिक भएका थिए ।
यस्ता व्यवहारले गर्दा पोखरा घुम्नको लागि आएका पर्यटकले सास्ती खेप्नु परेको छ । पोखरा भित्रने पर्यटनसँग मोलमलाई गर्ने र झोला तानातान गरेर अभद्र व्यवहार हुने गरेको भन्दै व्यवसायीलेसमेत विरोध गर्दै आएका छन् ।
विशेष गरी साना होटलका प्रतिनिधिले पर्यटकलाई बार्गेनिङ र प्रलोभन देखाएर पोखराकै बद्नाम गर्ने काम भइरहेको भन्दै गुनासो पुगेपछि यस्तो गतिविधि रोक्ने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
पोखरा आउने पाहुनलाई होटल मिलाइदिन्छु भन्दै बाटो छेक्ने, दुख दिने गरेको आरोपमा प्रहरीले ९ जनालाई बुधबार पक्राउसमेत गरेको छ ।

पृथ्वीचोक आएर रोकिने गाडीसम्मै पुगेर दुख हैरानी दिने, झोला तान्ने गरेर अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ परेको हो । पक्राउ पर्नेमा पृथ्वी चोक तथा बसपार्क आसपास र ड्यामसाइटका होटलका प्रतिनिधि छन् ।
पोखरा–९ बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, नारायण अधिकारी, नागढुंगा बस्ने श्याम प्रसाद शर्मा, बसपार्क बस्ने विकास कुंवर, पृथ्वीचोक बस्न बिमल ठकुरी छन् ।
यसैगरी, पृथ्वीचोककै विकास श्रेष्ठ, पाटनबेसी बस्ने रन्जन खड्का र ड्यामसाईड बस्ने सविन नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले जानकारी दिए ।
उनीहरुले जबरजस्ती सवारी साधनबाट ओरार्ने, बाटो छेक्ने, झोलाहरु तान्ने गरेको आरोप प्रहरीको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।