पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ वटा कृषि फर्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । च्याउ, गोलभेंडा, सिमी र कोदो उत्पादनमा नोक्सानी भोगेका किसानलाई महानगरपालिकाले समर्थन मूल्य दिएको हो । ६० हजार ४४१ किलो च्याउ, २५ हजार ४१७ किलो गोलभेँडा, ९ हजार ५२० किलो सिमी र २९१ केजी कोदोको समर्थन मूल्य प्रदान गरेको महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार २६ लाख ७९ हजार ७६१ रुपैयाँ समर्थन मूल्य वितरण गरिएको हो । समर्थन मूल्य नपाएका किसानलाई प्रोत्सहान गर्न महानगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी चिसापानी च्याउ फार्मका सन्दीपबहादुर क्षत्रीले ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० रुपैयाँ प्राप्त गरेका छन् ।

तोकिएको न्यूनमत् समर्थन मूल्य नपाएका किसानलाई प्रोत्साहन गर्ने नीति महानगरको भएको कडरिया भनाइ छ । पोखरामा स्थानीयस्तरमै उत्पादन भएका वस्तु धेरै कारणले मूल्य नउठ्ने र उत्पादनको लागत पनि नपाएपछि किसान निराश भएर पेशाबाटै पलायन हुने अवस्था आउने भएकाले यो कार्यक्रम ल्याएको उनले बताए । महानगरले तोकेको न्यूनतम् समर्थन मूल्यमा किसानले जति कममा बेच्नुपर्छ त्यति रकम महानगरपालिकले दिने उनले बताए । समर्थन मूल्य पाउन दर्ता भएका कृषि फार्म र किसानले महानगरपालिकामा सूचीकृत अनिवार्य गरेको छ ।
पोखरा महानगरपालिका ३५ कृषि उपजको समर्थन मूल्य तोकेको छ ।
