लामो समयदेखि परेको खडेरीले बागलुङका किसानले खेतबारीमा लगाएको मकै सुक्न थालेको छ । चैतमा लगाएको मकै खडेरीले सुक्न थालेपछि किसान चिन्ति भएका छन् । बागलुङमा चैत र बैशाख महिनामा मकै छर्ने गरिन्छ । माथिल्लो भेगमा चैत पहिलो र तल्लो क्षेत्रमा वैशाख दोस्रो सातासम्म मकै छर्ने गरिन्छ । चिसो हावापानीका कारण उच्च क्षेत्रमा एक महिना अगाडिनै मकै लगाउने गरिएको हो । खडेरीका कारण माथिल्लो क्षेत्रमा उम्रिएका मकैका बोट धमाधम सुक्न थालेका छन् । तल्लो क्षेत्रका किसान मकै छर्नका लागि वर्षातको पखाईमा छन् ।
काठेखोला गाउँपालिका–७ रेश बौडेचौरका किसान कुविर थापाले चैतमा छरेको मकै कामै नलाग्ने गरि सुकेको बताए । बारीमा लगाएको मकै मर्न थालेपछि बिउ बचाउन पनि मुस्किल हुने उनको भनाइ छ । पानी नपर्दा आफूले १७ मुरी फल्ने बारीमा लगाएको मकै सबै नष्ट भएको अर्का किसान प्रेमबहादुर क्षेत्रीले बताए । खडेरीले सबै नष्ट भएपछि पानी परे पुनः मकै छर्नु पर्ने स्थिती आएको उनको भनाइ छ ।
मकैसँगै बारीका तरकारी पनि सुक्न थालेको क्षेत्रीले बताउँछन् । यस वर्षको जस्तो लामो खडेरी अहिलेसम्म नभएको सुनाउँदै अझै केही समय पानी नपरे भोगमरी लाग्न सक्ने उनको अनुमान छ । खडेरीका कारण मुहान र खोलानाला सुक्दै गएपछि खानेपानीको समेत समस्या हुन थालेकोे छ । दिनप्रति दिन आगलागी हुँदा वायु प्रदूषणले समेत सास्ती भएको छ ।