आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो। नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन् । हालसम्म करिब ७ हजार ८ सय ५१ जनाले शिखर चुमेको पर्यटक विभागको तथ्यांक छ । आरोहणका क्रममा तीन सय बढीको ज्यान गएको छ ।
यस वर्षको वसन्तयाममा मात्रै १३ जनाले सगरमाथामा ज्यान गुमाएका छन् । जसमा नेपालका ५, मलेसियाका २, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अष्ट्रेलियाका १÷१ जना छन् ।