नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ ।
बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने पत्रकार सम्मेलनमा बताइएको हो । पोखरामा २३ वर्षपछि १८ गते देखि २० गते सम्म बाघ जात्रा देखाइँदै छ । बाघ जात्रा आयोजक समिति २०८० का संयोजक जवाहरलाल श्रेष्ठले कलाकारहरू अहिले जात्राको तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए ।
पहिलो दिन गणेश टोल, मोहरिया टोल हुँदै बगरक्षेत्र, दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रङ्गशालामा जात्रा देखाइने जनाइएको छ । लेखक रवीन्द्र माकाजूले जात्रा पोखराकै प्रतिष्ठाको विषय भएको बताउँदै जीवनमा एक पटक हेर्नैपर्छ भन्नेहरू धेरै रहेको सुनाए । यसपालिको बाघ जात्रामा सहभागी हुन भक्तपुर नगरपालिकाले ५० जनाको ‘घिन्ताघिसी’ जात्रा टोली पोखरा पठाउँदै छ । बागलुङबाट हनुमान नाच देखाउने टोली पनि आउँदै छ ।
जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको संयोजकको भनाइ छ ।
